जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपाको यस निर्णयले सत्तारुढ दल राष्ट्रिय सभामा अल्पमतमा परेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारको कामको समीक्षा गर्दै समर्थन फिर्ता लिने निर्णय गरेको हो । अध्यक्ष उपेन्द्र यादवको सचिवालयले बैठकको निर्णय सार्वजनिक गरेको छ ।
पार्टीले वर्तमान सरकारलाई “असफल” भनी ठहर गर्दै अब प्रतिपक्षमा बस्ने स्पष्ट घोषणा गरेको छ । जसपाले जारी गरेको निर्णयमा भनिएको छ, “केपी शर्मा ओली नेतृत्वको वर्तमान असफल भइसकेको सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नै नरहेको हुनाले उक्त समर्थन फिर्ता लिई अब उपरान्त विपक्षमा बस्ने निर्णय गरियो ।”
पार्टीले समर्थन फिर्ता गर्न विभिन्न ११ कारण उल्लेख गरेको छ । जसअनुसार, सरकारले जनतालाई सुशासनको प्रत्याभूति गराउन नसकेको, भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसनतन्त्र र विचौलियाको चलखेल नियन्त्रणमा ल्याउन सरकार असफल भएको, मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गएको, बजेट पूर्वाग्रही र असन्तुलित रहेको, संघीयताको कार्यान्वयनमा कुनै गम्भीर प्रयास नभएको जस्ता कारणहरु देखाइएका छन् ।
त्यस्तै, कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकासमा ध्यान नदिई बेरोजगारी र गरिबी हटाउनेतर्फ कुनै ठोस नीति नदेखिएको, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत सेवामा गुणात्मक सुधार गर्न नसकेको भन्दै आलोचना गरिएको छ । मधेस, आदिवासी जनजाति, दलित, महिला, थारू, अल्पसंख्यकलगायत उत्पीडित समुदायको मुद्दा सम्बोधन गर्न सरकार असफल भएको निष्कर्ष पनि पार्टीले निकालेको छ ।
मधेस, थरूहट, किरात–लिम्बुवानलगायतका आन्दोलनका क्रममा लगाइएका झुठा मुद्दामा थुनामा परेका राजबन्दीहरूलाई अझै रिहा नगरिनु, संविधान संशोधनको पहल नगर्नु, किसानलाई सिँचाइ, मल, बीउ, सहुलियत ऋणजस्ता सेवा सुविधा नपुर्याउनु, र बेरोजगार युवाहरूका लागि रोजगारीका अवसर सृजना नगर्नु पनि पार्टीको असन्तुष्टिका आधार बनेका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जसपा अब प्रतिपक्षको भूमिकामा सक्रिय हुने बताइएको छ ।









