भिजिट भिषा प्रकरण चर्चामा रहेको बेला गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा व्यापक फेरबदल गरेको छ । मंगलबार एकैदिन अध्यागमन विभागका महानिर्देशक र विमानस्थल अध्यागमन प्रमुखको सरुवासहित ४५ जना नयाँ अधिकृत पठाइएको हो । विमानस्थल सुधारका लागि भन्दै मन्त्रालयले यो कदम चालेको हो ।
अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा फिर्ता बोलाई उनको स्थानमा सहसचिव रामचन्द्र तिवारीलाई पठाइएको छ । तिवारी यसअघि मन्त्रालयमै प्रवक्ता र शान्ति सुरक्षा महाशाखाका प्रमुख थिए ।
त्यसैगरी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि गृहमा सरुवा गरिएको छ । उनको सट्टामा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई पठाइएको छ । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारीमा थिए । कोइरालाले भने विमानस्थलको जिम्मेवारी सम्हालेको दुई महिनामै फिर्ता भएका हुन् ।
विमानस्थलमा पटक–पटक विवाद उत्पन्न भएका कारण अध्यागमन कार्यालय ‘सेटिङ’ को केन्द्र बन्दै आएको थियो । पछिल्ला महिनामा ‘भिजिट भिसा’ को दुरुपयोग र विभिन्न अध्यागमन प्रकरणमा अनुसन्धान सुरु भएपछि मन्त्रालयले ठूलो संख्यामा नयाँ जनशक्ति खटाउने निर्णय गरेको हो ।
गृह मन्त्रालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिस गरेका ४५ जना नवनियुक्त अधिकृतलाई मंगलबार अध्यागमन विभागमा खटाइएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार नयाँ अधिकृतहरू मंगलबारदेखि नै तालिममा सहभागी भएका छन् ।
“यी सबै लोकसेवा आयोगबाट हालै उत्तीर्ण भएका फ्रेस अधिकृतहरू हुन् । काममा पारदर्शिता र चुस्तता ल्याउने अपेक्षासहित उनीहरूलाई खटाइएको हो,” गृह मन्त्रालयले भनेको छ ।
तालिममा उनीहरूले अध्यागमन कार्य सञ्चालन, पाहुनासँगको व्यवहार, संकास्पद गतिविधि पहिचान, कार्यसम्पादन सुधारलगायतका विषयमा प्रशिक्षण लिइरहेका छन् । तालिम सकिएलगत्तै उनीहरूले कार्यभार सम्हाल्नेछन् ।
गृह स्रोतका अनुसार अहिले विमानस्थलमा कार्यरत धेरै अधिकारीहरूको काठमाडौँमा बसाइ अब लामो नहुनेछ । उनीहरूलाई विभिन्न जिल्लाका प्रशासनिक कार्यालयहरूमा सरुवा गरिने तयारी भइरहेको छ ।
यसअघि अध्यागमन प्रमुख तीर्थ भट्टराईमाथि भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन थालेपछि गृहले उनलाई तानेको थियो। त्यसपछि कोइराला पठाइएका थिए। तर, विवाद थपिँदै जाँदा गृहले फेरि नेतृत्व फेरबदल गर्ने निर्णय गरेको हो।
विमानस्थलको अध्यागमन साख जोगाउन र विगतमा देखिएका अनियमितता नियन्त्रण गर्न सहसचिव तिवारी र प्रजिअ घिमिरेको संयोजनमा नयाँ प्रणाली लागू हुने गृह स्रोतको भनाइ छ।
गृह मन्त्रालयले अध्यागमनको सुधारलाई प्राथमिकतामा राख्दै थप नीतिगत परिवर्तनको तयारीसमेत गरिरहेको जनाएको छ।








