राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध स्वरूप कारबाही गरिएको आरोप लगाउँदै चलाएको अभियानमा अहिलेसम्म २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाइएको छ ।
बिहीबार पार्टीको केन्द्रीय कार्यालय चःमतिमा आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाले अभियानको हालसम्मको प्रगति सार्वजनिक गरेको थियो । अभियान संयोजक तथा सहकोषाध्यक्ष दीपक बोहराका अनुसार असार ७ गतेदेखि सुरु भएको उक्त हस्ताक्षर अभियान कम्तीमा १०० दिनसम्म सञ्चालन हुनेछ ।
“हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिहरूले अभियानको नेतृत्व गरेका छन्,” उनले जानकारी दिए ।
रास्वपाले साउन ५ गतेदेखि अभियानलाई वडा तहसम्म विस्तार गर्दै घरदैलो कार्यक्रम थाल्ने जनाएको छ । साथै, नेपाल–भारतका प्रमुख सीमा नाका (काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकी आदि), प्रमुख विमानस्थल, बसपार्क तथा अन्य सार्वजनिक स्थानहरूमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिनेछ ।
उपचुनावको तयारी स्वरूप रास्वपाले रुपन्देही–३ का सबै ३६ वडामा बुथमार्फत हस्ताक्षर संकलन गर्ने पनि योजना बनाएको छ । “बर्खा र खेतीपातीका कारण ग्रामीण क्षेत्रमा अभियान अलिक कमजोर देखिएको छ, तर आगामी दिनमा सहभागिता बढ्ने अपेक्षा गरेका छौं,” बोहराले भने, “देश–विदेशमा रहेका शुभचिन्तक र रास्वपाका समर्थकहरूले स्वस्फूर्त रूपमा अभियानमा सहभागिता जनाइरहनुभएको छ ।”
रास्वपाका अनुसार हालसम्म अभियानका लागि ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको छ भने ५९ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको छ । अभियान सुरु भएदेखि हालसम्म १३ लाख ५४ हजार ४८६ रुपैयाँ घाटामा रहेको जानकारी दिइएको छ । अभियान अझै लामो समय चल्ने भएकाले थप खर्च बढ्ने अपेक्षा गरिएको छ ।
सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा कास्की, चितवन, रूपन्देही, काठमाडौं र पर्सा जिल्लाका अदालतहरूमा विचाराधीन छन् । तीमध्ये चार जिल्लामा उनी धरौटीमा रिहा भएका थिए भने उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो । सर्वोच्च अदालतले पनि उक्त आदेशलाई सदर गरिदिएको छ ।
रास्वपाले लामिछानेविरुद्धको मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै जनदबाब सिर्जना गर्न देशभर अभियान सञ्चालन गरिरहेको जनाएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको रास्वपाले यसपटक त्यो संख्याको दोब्बरभन्दा बढी हस्ताक्षर संकलन गरेको दाबी गरेको हो ।









