२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

त्रिभुवन विमानस्थलमा भिजिटर पास वितरण बन्द



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण स्थायी रूपमा बन्द गरेको छ ।

विमानस्थलमा भिजिटर पास पाउन भनसुन हुने र पहुँच नभएकाले सुविधा नपाएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले यो व्यवस्था बन्द गर्ने निर्णय गरेको हो ।

विमानस्थल सुविधा समितिको निर्णयअनुसार साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत हुँदै आएको भिजिटर पास वितरण रोकिने भएको छ ।

विमानस्थल कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै टर्मिनल भवनमा व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्ति, गर्भवती तथा नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जानकारी दिएको छ ।

त्यस्तै, ह्विलचेयर वा अन्य विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीमार्फत सहजीकरण भइरहेको पनि जनाएको छ । साथै, चेक–इन सामानको संख्या र तौल सीमा हवाई टिकटमा स्पष्ट उल्लेख हुने भएकाले यात्रुहरूलाई सो नियम पालना गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बुधबार  १० : ३६ बजे