नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देही–३ को उपचुनावमा भाग लिन अयोग्य भएको छ । निर्वाचन आयोगले सोमबार दर्ता भएका दलहरूको सूची सार्वजनिक गर्दा नाउपा छुटाएको हो ।
आयोगले रुपन्देही–३ उपचुनावका लागि २७ दलले निवेदन दिएकोमा २६ दल मात्रै दर्ता योग्य भएको जनाएको छ । अयोग्य दलमा नागरिक उन्मुक्ति पार्टी परेको आयोगले स्पष्ट पारेको छ ।
अयोग्य हुनुका तीन कारणले आयोगले उल्लेख गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार नाउपाको नयाँ कार्यसमितिले कानूनी मान्यता नपाउनु, अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी दर्ताका लागि आवश्यक केन्द्रीय समितिको निर्णय पेश गर्न नसक्नु र वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाउन नसक्नु यसको अयोग्यताको कारणहरु हुन् ।
“नयाँ कार्यसमितिले वैधानिकता पाएन, रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठकको निर्णय र वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाउन सकिनन्। प्रमाण नपुगेपछि दर्ता हुने कुरा भएन” उनले भने ।
नाउपामा आन्तरिक विवाद चर्किँदै गएको छ । पार्टी संरक्षक रेशम चौधरीले आफ्नी पत्नी रञ्जिता श्रेष्ठलाई अपदस्त गर्दै आफ्ना बुवा लालवीर चौधरीलाई नयाँ अध्यक्ष घोषणा गरेका थिए । लालवीर नेतृत्वमा बनेको नयाँ कार्यसमितिलाई मान्यता दिन आयोगमा निवेदन पेस गरिएको थियो । तर, आयोगले यो कार्यसमितिलाई वैधानिकता दिन अस्वीकार गर्दै रञ्जिता नेतृत्वको कार्यसमितिलाई नै आधिकारिक ठहर गरेको थियो ।
आयोगले कार्तिक १७ गते हुने रुपन्देही–३ को उपचुनावमा २६ दल दर्ता भइसकेको जनाएको छ । नाउपा भने यो उपचुनावभर प्रतिस्पर्धाबाट बाहिरिएको छ ।








