राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत महिलालाई गालीगलौज गरेको आरोपमा साइबर ब्यूरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो । उनीविरुद्ध पीडित महिलाले उजुरी दिएपछि अनुसन्धानका क्रममा पक्राउ गरिएको ब्यूरोका एसपी दिपकराज अवस्थीले जानकारी दिएका छन् ।
अवस्थीका अनुसार पाँडे बुधबार नै साइबर ब्यूरोमा हाजिर भएका थिए । बुधबार अदालत लैजाने समय नभएकाले उनलाई ब्यूरोको हिरासतमा राखिएको र भोलि अदालतमा पेस गरिने प्रहरीले जनाएको छ । पाँडे २०७९ सालमा रास्वपामा प्रवेश गरेका थिए । २०८० सालमा उनले राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत सम्हालेका थिए ।
एमाले नेता ऐन महर हाजिरी जमानीमा छुटे
यसैबीच सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर भने हाजिरी जमानीमा छुटेका छन् ।
विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका महरलाई हाजिरी जमानीमा रिहा गरिएको साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
प्रहरीले उजुरी दर्ता भएपछि जिल्ला अदालत काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो । त्यसपछि अदालतले भदौ ९ गते महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार ब्यूरोमा उपस्थित भएका उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि अदालतमा पेश गरेको थियो ।
महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । बझाङ स्थायी बासिन्दा महर एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष भइसकेका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले बझाङबाट उम्मेदवारी दिएका थिए तर नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीसँग पराजित भएका थिए । महरलाई एमालेले २०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरेको थियो । तर यौन विचलनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई एक पटक पार्टीले निलम्बन गरेको थियो । पछि सचिवालय बैठकबाट फेरि महरलाई जिम्मेवारीमा फर्काइएको थियो ।









