आउँदो कात्तिक १७ गते हुने रुपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले आज आन्तरिक निर्वाचन प्रक्रिया पूरा गर्दै वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारिक उम्मेदवारको रूपमा घोषणा गरेको हो ।
रुपन्देहीकै सिद्धार्थनगर–९ अञ्चलपुरका थापा पेशाले चिकित्सक हुन् । सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा १७ वर्ष बिताएका उनी नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्षसमेत हुन् । उनकै पहलमा राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल तयार भई स्वास्थ्य मन्त्रालयमार्फत कार्यान्वयनमा गएको थियो ।
रास्वपाले उपनिर्वाचनका लागि इच्छुक उम्मेदवारबाट साउन २१ गतेसम्म आवेदन मागेको थियो । सो अवधिभित्र ९ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका थिए । इच्छुक उम्मेदवारसँग २५ हजार रुपैयाँ शुल्क लिइएको थियो ।
पार्टी सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा बनेको उम्मेदवार छनोट समितिमार्फत प्राइमरी इलेक्सन गरेर थापालाई उम्मेदवार घोषणा गरिएको हो ।
डा. थापाले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र चितवनस्थित कलेज अफ मेडिकल साइन्सेजबाट डीएम न्युरोलोजी अध्ययन गरेका छन् । साथै, उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा ‘सेफ्टी, क्वालिटी, लिडरसिप एण्ड इन्फर्मेटिभ’ अध्ययन गरेका छन् ।
पछिल्लो समय उनले देशको विकास, सामाजिक न्याय र समृद्धिको लागि राजनीतिलाई प्रमुख माध्यमका रूपमा स्वीकार्दै रास्वपाबाट सक्रिय राजनीति सुरु गरेका हुन् ।








