यस वर्षको शरद ऋतु (सेप्टेम्बर–नोभेम्बर) मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल चढ्न विभिन्न मुलुकका १७ टिम सहभागी हुनेछन् ।
शुक्रबारसम्मको तथ्याङ्कअनुसार एक सय ६९ पुरुष र ५५ महिलाले आरोहण अनुमति लिएका छन् । उनीहरूबाट रु नौ करोड ४३ लाख २२ हजार ८६० राजस्व संकलन भएको विभागले जनाएको छ ।
यो सिजनमा सबैभन्दा बढी आरोहीले मनास्लु नै रोजेका छन् । अहिलेसम्म सगरमाथा आरोहणका लागि मात्र एक जनाले अनुमति लिएका छन् भने ल्होत्से चढ्न दुई जनाले अनुमति लिएका छन्। सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ र ६ हजार ३९५ मिटर अग्लो ल्यायुल चढ्न १५ जनाले अनुमति लिएका छन् ।
गत वर्ष यही सिजनमा ४०१ जनाले मनास्लु आरोहणको अनुमति लिएका थिए । यस वर्ष भने हालसम्म आधा भन्दा कमले मात्र अनुमति लिएको देखिन्छ ।
देशअनुसार चीनका ४३ जनाले अनुमति लिएका छन्। त्यस्तै, पोल्याण्डका २५, रुसका २३, नेपाली २३, अमेरिकाका १६, जापानका १३, फ्रान्सका १२ र क्यानडाका १० जनाले अनुमति लिएका छन्।
मनास्लु क्षेत्रमा हाल रोप फिक्सिङ (डोरी टाँग्ने) काम भइरहेको छ । आरोहीहरू सामागाउँ पुग्न थालेका छन् । कतिपय लमजुङ–मनाङ हुँदै लार्के पासबाट हिँडेर पुग्ने गरेका छन् भने कोही हेलिकप्टरमार्फत जाने गर्छन्।
पर्यटन विभागका अनुसार शरद ऋतुका लागि अनुमति लिने आरोही अझै बढ्ने अनुमान छ । बल्ल सिजन सुरु भएकोले केही दिनमै अनुमति लिनेहरूको सङ्ख्या बढ्ने विश्वास विभागले गरेको हो ।









