१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

जेनजीको आन्दोलन सोमबार, माइतीघरदेखि बानेश्वरसम्म मार्चपास गर्ने तयारी



जेनजी पुस्ताका युवाहरुले भोलि भदौ २३ गते माइतीघरबाट सुरु हुने आन्दोलनको तालिका सार्वजनिक गरेका छन् । आज माइतीघरमा बसेको बैठकले आन्दोलनको विस्तृत कार्यक्रम तय गरेको हो ।

तालिकाअनुसार भोलि बिहान ९ बजे माइतीघरमा भेला भएर बानेश्वरस्थित एभरेस्ट होटलसम्म मार्चपास गरिनेछ । आन्दोलनमा कसैले पनि राजनीतिक भाषण गर्ने छैनन् । बैठकमा सहभागी एक सदस्यले बताएअनुसार, कार्यक्रमका क्रममा कविता, गीत लगायतका सिर्जनात्मक प्रस्तुतिहरू मात्र हुनेछन र त्यसमा सहभागी स्रष्टाहरू २८ वर्षभन्दा कम उमेरका हुनुपर्नेछ ।

नेपाल सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले बिना शर्त सामाजिक सञ्जाल पुनः सक्रिय गर्नुपर्ने, पुराना नेताले प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष आयुक्त नियुक्त गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

यस आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरूले ऐक्यवद्धता जनाइरहेका छन् । सामाजिक सञ्जाल टिकटकमार्फत “नेपो बेबिज” अभियानसमेत भाइरल भइरहेको छ । यस अभियानले भ्रष्ट नेताका छोराछोरीको विलासी जीवनशैली र सामान्य नेपाली युवाको संघर्षबीचको असमानता देखाउँदै हजारौं विद्यार्थीलाई सोमबार बिहान विद्यालय पोशाकसहित माइतीघरमा उपस्थित हुन आह्वान गरेको छ ।

आन्दोलनकारीहरूले नेताहरूको अवैध धनस्रोत र विलासी जीवनशैलीलाई प्रमुख मुद्दा बनाएका छन् । उनीहरूको भनाइमा, नेतासँग वैध आयस्रोत नभए पनि उनीहरूको जीवनशैली ठूला व्यापारीभन्दा कम छैन, जसले देश शोषण भइरहेको स्पष्ट पार्छ ।

युवापुस्तामा दलीय राजनीति र नेताप्रतिको असन्तोष बढ्दो क्रममा रहेको बैठकमा सहभागीहरुले बताएका छन् । उनीहरूको भनाइमा, दलहरूको चरित्र फरक नाममा एउटै भएको र सबै नेताहरू पैसामुखी बनेका कारण दलका नाममा आशा राख्नु व्यर्थ छ ।

बैठकमा प्रस्तुत विचारअनुसार, अब युवाहरूले स्वतन्त्र आन्दोलनमार्फत समाज परिवर्तनमा अग्रसर हुनुपर्ने अवस्था आएको छ । युवाहरूले राजनीतिलाई सरापेर मात्र नभई प्रत्यक्ष हस्तक्षेप गर्ने साहस देखाउनुपर्ने भन्दै आजको जेन जेडको अभियानलाई आशाको झिल्कोका रूपमा व्याख्या गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  १० : ०८ बजे