३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

सेनापतिद्वारा वार्ताको आह्वान, शान्ति सुरक्षाका लागि सेना परिचालित



नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् ।

मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरे । उनले आन्दोलनका कार्यक्रम स्थगित गरी वार्ताको बाटो समाउन आग्रह गर्दै भने, “राष्ट्रिय हित सर्वोपरि भएकाले सबै पक्ष वार्तामा आउनु अपरिहार्य छ ।”

प्रधानसेनापति सिग्देलले हालै देशभर भएका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरेका छन् । साथै, शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत दिएका छन् ।

उनले शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको उल्लेख गर्दै भने, “नेपालको इतिहासले साक्षी बसेझैं, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ ।”

सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने विषयमा जोड दिए । मातृभूमि र देशको जयगान गर्दै उनले राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आह्वान गरे ।

यसअघि मंगलबार दिनभर तनाव जारी रहेकाले नेपाली सेनाले तत्काल लुटपाट, आगजनीलगायतका गतिविधि रोक्न अपिल गरेको थियो। सेनाले चेतावनी दिंदै यस्तो गतिविधि नरोकिए राति १० बजेदेखि नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने जनाएको छ ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा, “विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने कार्य गरिरहेका छन्,” भन्दै त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलाई सहयोग गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ।”

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १० : ५५ बजे