७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

झडपमा चार प्रहरीको मृत्यु, सिंहदरवारसहित सरकारी भवनहरुमा आगजनि




काठमाडौँमा मंगलबार भएको आन्दोलन हिंसात्मक बन्दै जाँदा चार प्रहरीको ज्यान गएको छ। कोटेश्वरमा तीन जना र महाराजगन्जमा एक प्रहरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

प्रहरी स्रोतका अनुसार, महाराजगन्जमा प्रदर्शनकारीले सुरु गरेको आगजनीका कारण निसास्सिएर एक असईको ज्यान गएको हो। कोटेश्वरमा भएको भिडन्तमा तीन जना प्रहरी मारिएका छन्। त्यहाँ प्रदर्शनकारीले आक्रमण गरी प्रहरीको बन्दुक समेत खोसेका थिए।

यस्तै, प्रदर्शनकारीहरूले सिंहदरबारमा आगजनी गरेका छन्। यसअघि २०४६ र २०६२–०६३ को जनआन्दोलनका क्रममा समेत प्रदर्शनकारी प्रवेश गर्न नसकेको सिंहदरबारमा आगो लगाएका हुन्।

गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा मन्त्रालयसहित धेरै मन्त्रालयका भवनहरूमा आगजनी गरिएको छ। मन्त्रालय परिसरमा रहेका सवारी साधन तोडफोड गर्नुका साथै लुटपाटसमेत भएको छ। आगलागीका कारण काठमाडौंको आधा आकाश धुवाँले ढाकिएको छ।

सिंहदरबार परिसरमा सुरक्षाकर्मीको उपस्थिति न्यून छ। केही नेपाली सेनाका जवानहरूले भीडलाई रोक्ने प्रयास गरे पनि प्रदर्शनकारी नरोकेर सम्पत्तिमा क्षति पुर्‍याइरहेका छन्। नेपाल टेलिभिजनको कार्यालयमा समेत तोडफोडको प्रयास भएको भए पनि केही प्रदर्शनकारीले संयमता अपनाउन आग्रह गरेपछि त्यहाँ ठूलो क्षति हुन पाएन।

यसैबीच, प्रदर्शनकारीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनमा समेत आगजनी गरेका छन्। भवनभित्र तोडफोड भइरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निवासमा पनि आगजनी गरिएको छ। उनका स्वकीय सचिव राजकुमार राईका अनुसार भण्डारीलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामाको घोषणा गरे पनि काठमाडौंलगायत देशभर आन्दोलन अझै नियन्त्रणमा आएको छैन। पोखरामा पनि आन्दोलन हिंसात्मक बनेको छ। त्यहाँ प्रदर्शनकारीहरूले अधिकांश सरकारी कार्यालय, प्रदेश सभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, मालपोत कार्यालयलगायतमा आगजनी गरेका छन्।

पोखरामा निजी क्षेत्रका प्रतिष्ठान पनि आक्रमणको शिकार बनेका छन्। भाटभटेनी सुपरमार्केट, होटेल, रिसोर्ट, अटो शो–रूम, एनसेल कार्यालयलगायतमा आगो लगाइएको छ। गण्डकी प्रदेशका मन्त्री र मेयरका घर समेत जलाइएका छन्।

आन्दोलनका क्रममा रास्वपा र राप्रपाका कार्यकर्ताको सक्रियता देखिएको सुरक्षास्रोतको दाबी छ। उनीहरूले भीडलाई उक्साउँदै राजाको प्रतिमा राख्ने जस्ता गतिविधि पनि गरेका छन्।

पोखरामा दिनभर आगजनी भइरहेकाले आकाश धुवाँले ढाकिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ भने सहरभर कर्फ्यू जारी गरिएको छ। तर, कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनकारीहरूले सरकारी सम्पत्ति र निजी क्षेत्रमा निरन्तर क्षति पुर्‍याइरहेका छन्।

सुरक्षा निकाय, राजनीतिक दल र आन्दोलनकारी कसैले पनि प्रदर्शन हिंसात्मक मोडमा गएको जिम्मेवारी नलिएको भन्दै स्थानीयले असन्तोष व्यक्त गरेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ११ : ०२ बजे