२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

जेनजी आन्दोलनमा मारिएका युवाहरूको शवयात्रा, ७२ पुग्यो मृतकको संख्या



जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मंगलबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि सहिद घोषित युवाहरूको शव परिवारलाई हस्तान्तरण गरिएको छ । शवलाई राष्ट्रिय झण्डाले छोपेर महाराजगन्ज, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटसम्म शवयात्रा निकालिएको थियो ।

शवयात्रामा राष्ट्रिय झण्डा बोकेका युवाहरू सहभागी थिए । बाटोभरि सर्वसाधारण भावविह्वल बनेर श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्तिम बिदाइका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङले सरकारको तर्फबाट सहिदलाई राष्ट्रिय झण्डा ओढाएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये ३९ जनाको त्रिवि शिक्षण अस्पतालमा र २ जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरिएको छ । उपत्यकाबाहिर मृत्यु भएकाहरूको शव काठमाडौँ ल्याएर पोस्टमार्टम भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालले ४६ शवमध्ये ३९ जनाको पोस्टमार्टम सम्पन्न गरी परिवारलाई हस्तान्तरण गरेको छ । तीमध्ये २ महिला र ३७ जना पुरुष छन् । तर, ७ वटा शव पूर्ण रूपमा जलेको अवस्थामा आएको र पहिचान गर्न नसकिने भएकाले डीएनए परीक्षणमार्फत मात्र पहिचान हुने अस्पतालले जनाएको छ ।

फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार जलेका शवबाट कंकाल वा दाँतमार्फत डीएनए नमुना निकाल्ने तयारी भइरहेको छ । परीक्षणपछि परिवारसँग डीएनए मिलेको खण्डमा मात्र शव हस्तान्तरण गरिने उनले बताए ।

डा. चौधरीका अनुसार पोस्टमार्टम भएका सबै शवमा कम्मरमाथि गोली लागेको छ । ३९ जनाको टाउको वा छातीमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । उनका अनुसार विभागका चिकित्सकहरूले दिनहुँ १० शवसम्म पोस्टमार्टम गरेका छन् ।

आन्दोलनका क्रममा हराइएका धेरैजना अझै सम्पर्कमा आएका छैनन् । भाटभटेनीलगायतका क्षेत्रमा कंकाल फेला परेका सूचना आएपछि आफन्त हराएका परिवारले टिचिङ अस्पतालमा खोजतलास बढाएका छन् । प्रहरीले समेत हराइएका व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  ९ : ५६ बजे