नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनको काम तत्काल सुरु गर्नुपर्ने बताएका छन् । उनले यसका लागि नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुबाहेक अरू विकल्प नभएको स्पष्ट पारेका छन् ।
थापाले पार्टी विधानअनुसार वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिने भन्दै म्याद थप नगरी नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनका अनुसार हालको क्रियाशील सदस्यलाई यथावत् राखी एक महिनाभित्र नयाँ क्रियाशील सदस्यता लिने समय तोकेर अधिवेशन सम्पन्न गर्न सकिन्छ ।
त्यस्तै, उनले वैधानिक व्यवस्था अनुसार आवश्यक परे केन्द्रीय कार्यसमितिले निर्णय गरेर वा महाधिवेशनका ४० प्रतिशत सदस्यहरूको मागमा विशेष महाधिवेशन बोलाउन सकिने बताए । अहिलेको विशेष परिस्थितिमा तत्काल विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ ।
“तत्काल पार्टी पुनर्गठनका लागि यी दुई बाहेक अन्य विकल्प छैन । यसरी आउने नेतृत्वले मात्र अहिलेको अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न सक्छ” थापाले भनेका छन् । उनले कांग्रेस अहिले विशेष चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै पनि पार्टीसँग अझै जिम्मेवारी र अवसर दुवै रहेको बताए ।
गगन थापाले देखेका कांग्रेसका पाँच दायित्व
१. भदौ २३ र २४ गतेको युवा आन्दोलनबाट व्यक्त सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने भावना पूरा गर्ने ।
२. आन्दोलनका क्रममा भएका घुसपैठ र अवाञ्छित क्रियाकलापले पुर्याएको धनजनको क्षतिको छानबिन गरी दोषीलाई कारबाही गर्ने र संरचनाको पुनर्निर्माण गर्ने ।
३. लामो संघर्षपछि बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्दै मुलुकलाई लोकतान्त्रिक प्रक्रियाबाटै अगाडि बढाउने ।
४. स्थापना कालदेखि अहिलेसम्म कांग्रेसले नछोडेका मूल्य–मान्यता जस्तै अहिंसा, नागरिक स्वतन्त्रता र विधिको शासनलाई जोगाउने ।
५. विगतका गल्ती–कमजोरी स्वीकार गर्दै आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्पमार्फत पार्टीलाई आमूल परिवर्तन र पुनर्गठन गर्ने ।








