२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

निर्वाचन रोक्ने षड्यन्त्र भइरहेको प्रचण्डको आरोप, जनार्दनको फरक मत



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई रोक्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा लिखित प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले देशी–विदेशी प्रतिक्रियावादीहरूले निर्वाचन हुन नदिने र मुलुकलाई संकटतर्फ धकेल्ने प्रयास गरिरहेको दाबी गरे।

उनले भने, “हाम्रो पार्टी दृढतापूर्वक तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा पूर्ण रूपमा होमिनुपर्छ। महाधिवेशन र निर्वाचन तयारीलाई सँगसँगै अगाडि बढाउनुपर्छ। निर्वाचनमा जेन–जी र युवा पुस्ताको उम्मेदवारीलाई प्राथमिकता दिनुपर्छ।”

अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनता र लोकतन्त्र गम्भीर संकटमा परेको भन्दै समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकता र ध्रुवीकरणलाई सँगसँगै अगाडि बढाइने उल्लेख गरे। उनले संविधानको रक्षा र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न नीति तथा विचार मिल्ने शक्तिसँग राजनीतिक सहकार्य गरिने बताए।

जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचना पुनर्निर्माणबारे पनि प्रचण्डले प्रस्ताव पेश गरे। उनले पार्टीका क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने र आवश्यक सहयोग जुटाउन कोष खडा गर्ने योजना सार्वजनिक गरे।

जनार्दन शर्माको फरक मत

बैठकमा उपमहासचिव जनार्दन शर्माले भने फरक मत प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डसहित सबै पदाधिकारीले आगामी महाधिवेशनमा भाग नलिने निर्णय गर्नुपर्ने माग राखे। उनले पुरानो नेतृत्वले एकसाथ राजीनामा दिएर नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे।

“अध्यक्ष प्रचण्डलगायत दशकौँदेखि एउटै पदमा रहेका पदाधिकारीले सामूहिक रूपमा राजीनामा दिऔं र नयाँ नेतृत्वलाई सहयोग गर्ने ‘निर्देशक कमिटी’ का रूपमा मात्र काम गरौं,” शर्माले प्रस्तावमा भनेका छन्।

उनले यस्तो कदमले पुरानो नेतृत्वको योगदानलाई सम्मान गर्ने मात्र नभई पार्टीलाई नवजीवन दिने र जनतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

शर्माले चेतावनी दिँदै भने, “यदि सबै पदाधिकारी महाधिवेशनमा सहभागी हुने निर्णय भयो भने अघिल्लो महाधिवेशनमा जस्तै नेतृत्वले प्रतिनिधिहरूको बहुमत मत विपरीत निर्णय गर्ने अवस्था नदोहोरिन सक्दैन। महाधिवेशन यथास्थितीको रिन्यू गर्ने नाटक बन्नु हुँदैन।”

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १० : ५६ बजे