नेकपा माओवादी केन्द्रको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ। यससँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब संयोजक भएका छन्।
बैठकस्थल प्रज्ञा भवन बाहिरिँदै प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भने, “म अब अध्यक्ष रहिँन, संयोजक भएँ।” केन्द्रीय समितिभित्र सानो स्वरमै भए पनि उनको नेतृत्वबारे प्रश्न उठिरहेको सन्दर्भमा यो अभिव्यक्ति अर्थपूर्ण देखिएको छ।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्ष पद छाडेर आफूलाई कार्यवाहक अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए। तर, बैठकले प्रचण्डकै प्रस्ताव अनुमोदन गर्दै समिति महाधिवेशन आयोजक समितिमा परिणत गरेको छ।
माओवादी नेता देवेन्द्र पौडेलका अनुसार विशेष महाधिवेशन मंसिरको अन्तिम सातासम्म सम्पन्न गर्ने निर्णय भएको छ। यसअघि छरिएका वा विचार मिल्ने कम्युनिस्ट दलसँग एकता गर्ने प्रयास हुने पनि निर्णयमा उल्लेख छ।
माओवादी नेताहरुका अनुसार प्रचण्डलाई नै संयोजक बनाउनुमा बहुसंख्यक सदस्यले अहिले उनको नेतृत्व नै उपयुक्त ठानेको, अध्यक्ष र केन्द्रीय समिति दुवै महाधिवेशनबाट आएका भएकाले अर्को महाधिवेशनसम्मै निर्णय हुने र विधि–प्रक्रियाअनुसार नेतृत्व परिवर्तन महाधिवेशनमै हुने प्रावधान रहेको हुँदा बताएका छन् ।
बैठकले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्न पूर्वमहालेखा परीक्षक वा स्वतन्त्र व्यक्तिहरूको सहभागितामा आयोग गठन गर्ने निर्णय गरेको छ । प्रचण्डले सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
त्यस्तै, नातावाद अन्त्य गर्ने, कुकस्कार नियन्त्रण गर्ने, आचरण सुधार गर्ने नीतिहरू बनाइने जनाइएको छ । पार्टीका सबै तहमा ‘जेन-जी’ को अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णयसमेत गरिएको छ ।
प्रचण्डले समयअनुसार आफूलाई बदल्ने र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने प्रयास गर्ने बताए । उनले आईटी दक्षतालाई प्राथमिकतामा राख्ने, असहमति राख्ने नेतासँग पनि छलफल गर्दै महाधिवेशनसम्म अघि बढ्ने प्रतिवद्धता जनाए ।








