२२ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025

पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा ठूलो कटौती: प्रचण्डको सुरक्षामा वाईसीएल र ओलीको सुरक्षामा युवा संघ



काठमाडौँ। सरकारले पूर्वपदाधिकारी तथा बहालवाला पदाधिकारीहरूको सुरक्षामा मापदण्डविपरीत खटाइएका सुरक्षाकर्मीहरू धमाधम फिर्ता गरेको छ। केन्द्रीय सुरक्षा समितिको बिहीबारको निर्णयपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले पूर्वप्रधानमन्त्रीहरूको आवासमा रहेका अतिरिक्त सुरक्षाकर्मीहरू फिर्ता लिएका हुन्।

सुरक्षाकर्मी कटौती गरिएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले आफ्नो सुरक्षाका लागि पार्टीको भ्रातृ संगठनका तालिमप्राप्त दस्ता र पूर्व लडाकुहरू परिचालन गरेका छन्।

कसको सुरक्षामा कति कटौती?

सुरक्षाकर्मी फिर्ता लिने क्रममा प्रचण्डको सुरक्षामा सबैभन्दा बढी कटौती भएको छ । उनकोबाट २४ जना फिर्ता गरिएको छ भने २६ जना बाँकी रहेको छ । त्यसैगरी ओलीको सुरक्षामा खटिएका मध्ये १९ जना फिर्ता गरिएको छ भने २६ जना बाँकी रहेका छन् ।

सशस्त्र प्रहरीले मापदण्ड अनुसार पाउने सुरक्षाकर्मी राखेर बाँकी फिर्ता गरिएको जनाएको छ । एक अधिकारीका अनुसार परिस्थितिअनुसार विगतमा निर्णय गरिए पनि सरकारको निर्देशन पालना गर्दै सुरक्षाकर्मी फिर्ता गरिएको हो ।

नेपाल प्रहरीका काठमाडौँ उपत्यकाबाट मात्रै बिहीबार १६२ जना सुरक्षाकर्मी फिर्ता भएका छन्, जहाँ विभिन्न व्यक्तिको सुरक्षामा १९२ जना खटाइएको थियो । देशभरि नै मापदण्डविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता भइरहेका छन् ।

पार्टीका दस्ताद्वारा सुरक्षा व्यवस्थापन

सरकारले सुरक्षाकर्मीको संख्या घटाएपछि दुवै पूर्वप्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई आफ्नो सुरक्षामा खटाएका छन् ।

प्रचण्डको सुरक्षामा वाईसीएल र पूर्वजनमुक्ति सेना खटाइएको जनाएको छ । गृह मन्त्रालयले सुरक्षाकर्मी फिर्ता गरेलगत्तै माओवादी केन्द्रले पूर्व लडाकु र वाईसीएलका तालिमप्राप्त दस्ता परिचालन गरेको छ। वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रचण्डको सुरक्षा अब वाईसीएल र पूर्वजनमुक्ति सेनाले गर्ने बताएका छन्। उनले सरकारको तजबिजमा सुरक्षा दिइएको तर अहिले सरकारले नदिने भनेपछि फिर्ता गरिएको दाबी गरे।

त्यसैगरी एमाले अध्यक्ष ओलीको सुरक्षाको जिम्मा अब राष्ट्रिय युवा संघ नेपाल, भूपू सैनिक र प्रहरी संगठनले लिने जनाको छ । एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत सुरक्षाकर्मी फिर्ता गरिएपछि जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा जनता स्वयं उभिएको दाबी गरेका छन् । बस्नेतले ओलीलाई आफ्नो घरनजिकै सारेर ठूलो संख्यामा युवा परिचालन गरेका छन् । युवा संघको सुरक्षा बलमा ओली बिहीबार औपचारिक कार्यक्रममा समेत सहभागी भएका थिए ।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनालको सुरक्षामा भने अहिले मापदण्डभन्दा बढी सुरक्षाकर्मी नरहेको सुरक्षा स्रोतले दाबी गरेको छ ।

हाल डेरामा बसिरहेका उनीहरूले आफूले पाउने सुरक्षाकर्मीको संख्या पनि पूरा लिएका छैनन् । जेनजी आन्दोलनका क्रममा निवासमा आक्रमण भएपछि फिर्ता भएका सुरक्षाकर्मीहरू अहिलेसम्म पुन: खटाइएको छैन ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : ३४ बजे