उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने मागसम्बन्धी निवेदनमा छविलाल जोशीको मुद्दाको फाइलसँगै पेस गर्न आदेश दिएको छ ।
बिहीबार उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासमा लामिछानेको निवेदनको पेसी चढेको थियो । सुनुवाइपछि इजलासले एकै प्रकृतिको विषयवस्तु जोडिएको भन्दै दुवै प्रतिवादीको फाइल एकैसाथ राखेर पेस गर्न आदेश गरेको हो ।
उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, “अब दुवै मुद्दाको फाइल एकसाथ एउटै इजलासमा पेस हुन्छन् । अर्को पेसी कहिले तोकिन्छ भन्ने टुङ्गो लागेको छैन ।”
सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागमा परेको बिगो रकम दाखिला गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर भएको थियो । लामिछानेले सामूहिक बिगोको चार भागमध्ये आफ्नो एक भाग बराबरको बिगो अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।
लामिछानेजस्तै अर्का प्रतिवादी छविलाल जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, जिल्ला अदालत रुपन्देहीले साउन २६ गते दुवैको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएको भन्दै रिहा गर्न अस्वीकार गरेको थियो । सोही आदेशविरुद्ध लामिछाने र जोशी दुवै उच्च अदालत पुगेका थिए ।
यसअघि उच्च अदालत बुटवलले लामिछानेको मुद्दामा जिल्ला अदालतबाट कैफियत प्रतिवेदन (मुद्दाका सबै विवरण) माग गर्ने आदेश दिएको थियो ।
जेन-जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा आगजनी र तोडफोड भएको थियो । तर, सो आगजनीमा लामिछाने र जोशी दुवैको मुद्दाको फाइल भने जोगिन सफल भएको बताइएको छ । जोगिएका फाइलमध्ये बिहीबार लामिछानेको मुद्दाको पेसी चढेको थियो ।
हाल लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।









