सरकारले यसअघिको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार फिर्ता बोलाइएका राजदूतहरूलाई आगामी २०८२ साल कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको छ ।
फिर्ता हुने राजदूतहरूमा चीनका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानक डा. दुर्गाबहादुर सुवेदी रहेका छन् ।
फिर्ता बोलाइएका राजदूतहरूमध्ये अधिकांश राजनीतिक नियुक्ति पाएका व्यक्तिहरू छन् भने केही परराष्ट्र सेवाबाट गएका अधिकारीहरू पनि रहेका छन् । राजदूतहरू फिर्ता बोलाउने निर्णयलाई सरकारको नियमित प्रक्रियाको रूपमा लिइएको छ ।









