२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

माओवादीसँग एकतामा जाने भएपछि नेकपा एसमा भाँडभैलो



नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरण गर्ने भएपछि नेकपा (एकीकृत समाजवादी) भित्र तीव्र मतभिन्नता देखिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरू एकता गर्ने वा नगर्ने भन्ने विषयमा दुई धारमा विभाजित भएका छन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले अहिलेको समयमा एकीकृत समाजवादी र माओवादीबीचको एकता सान्दर्भिक भएको बताएका छन् । उनले देशमा भ्रष्टाचार मौलाएका कारण ‘जेनजी विद्रोह’ भएको उल्लेख गर्दै सुशासनका लागि कम्युनिष्ट पार्टीहरूबीच एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

केन्द्रीय सदस्य केदारकुमार कँडेलले माओवादी केन्द्रसँग मात्र नभएर सिद्धान्त, नीति र कार्यनीति मिल्ने सबै कम्युनिष्ट पार्टीहरूसँग पार्टी एकता गर्न सकिने बताएका छन्। उनले केपी शर्मा ओलीका कारण कम्युनिष्ट आन्दोलन समाप्त हुने अवस्थामा पुगेको आरोप पनि लगाए ।

नेता राजेन्द्र राईले वाम एकताको बाटोमा अगाडि बढ्नका लागि माओवादीसँगको एकता कोसेढुंगा सावित हुने जिकिर गरे । यद्यपि, पार्टीभित्र एकता गर्ने र नगर्ने विषयमा मतभेद रहेको उनको भनाइ छ ।

नेता मेटमणि चौधरीले बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने र त्यसैको नेतृत्वमा देशलाई समृद्धितर्फ लैजान माओवादीसँगको एकता वामपन्थीहरूको केन्द्रबिन्दु हुने बताए । नेता विरोध खतिवडाले एकता गरेर एकै ठाउँमा बसिसकेका वामपन्थीहरू पुनः एक हुन नहुने भन्ने नरहेको भन्दै अहिले माओवादीसँगको एकता अपरिहार्य रहेको जिकिर गरे।

केन्द्रीय कमिटी सदस्य निलमणि बरालले अहिलेको राजनीतिक परिस्थितिमा एउटा अमूख पार्टीसँग हतारमा एकताको प्रयास गर्नु उपयुक्त नहुने बताएका छन् । उनले कुनै पनि पार्टीसँग एकता गर्ने समय नआएको र अहिले पार्टी एकताभन्दा पार्टीको पुनर्गठनमा जोड दिनुपर्ने बताए । उनको भनाइ छ, ‘अहिलेको परिस्थतिमा हतार गरेर कुनै एउटा अमुख पार्टीसँग मात्र नभएर नेपालमा रहेका थुप्रै कम्युनिष्ट पार्टीहरुसँग संयुक्त एकता, छलफल, बहसका लािग समय पूर्णरुपमा निर्माण भइसकेको छैन।’

पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेले अहिले भइरहेको एकता तत्कालीन एमाले र माओवादीबीचको एकता जस्तो हुने भन्दै माओवादीको महाधिवेशन नभएको अवस्थामा यो एकता सत्ता स्वार्थका लागि गरिने एकतामा परिणत हुने शंका व्यक्त गरे। उनले पार्टी एकताभन्दा संगठन विस्तारमा ध्यान जानुपर्ने बताए।

स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारीले माओवादी केन्द्र दक्षिणपन्थी पार्टी भएको जिकिर गर्दै कम्युनिष्ट पार्टीले माओवादीसँग एकता गरेर उनीहरूलाई सच्याउन नसक्ने बताए। उनले माओवादीको मातहतमा काम गर्न एकीकृत समाजवादीको अस्तित्व नै विलिन भएर जाने भन्दै माओवादी केन्द्रसँगको एकता कुनै पनि हालतमा सम्भव नरहेको धारणा राखे।

नेताहरूले फरक-फरक मत राखिरहँदा नेकपा (एकीकृत समाजवादी) भित्र पार्टी एकीकरणको विषयले गहिरो बहस र विभाजनको अवस्था सिर्जना गरेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  ७ : २८ बजे