काठमाडौं । आठ कम्युनिष्ट दलले पार्टी एकता गर्ने निर्णय गर्दै नेकपा (माओवादी केन्द्र)का निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई संयोजक र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सहसंयोजक बनाउने सहमति गरेका छन्।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) गरी आठ दलबीच आइतबार बेलुका १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर भएको हो।
नेकपा एसका वरिष्ठ नेता एवं वार्ता संयोजक बेदुराम भुसालका अनुसार एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)” रहने र चुनाव चिह्न पाँचकुने तारा अपनाइने सहमति भएको छ। माओवादी पक्षले माओवाद शब्द त्याग्दै नामको अग्रभागमा ‘नेकपा’ राखेको र नेकपा एसले आफ्नो नाम त्यागेर समाजवादी विचारमा आधारित साझा पहिचान स्वीकारेको भुसालले जानकारी दिए।
‘प्रचण्डजी संयोजक र माधव नेपाल सहसंयोजक हुने सहमति भइसकेको छ,’ भुसालले भने, ‘कात्तिक १९ गते हुने एकता राष्ट्रिय सम्मेलनमा औपचारिक घोषणा हुनेछ।’
भुसालका अनुसार पार्टी एकता घोषणा पछि निर्वाचन आयोगमा एकीकृत दलको दर्ता निवेदन दिइनेछ। त्यसपछि पार्टी निर्वाचन तयारीमा जुट्नेछ।
आठ दलको एकतापछि करिब एक हजार सदस्यीय केन्द्रीय समिति बन्नेछ। सबै सहभागी दलका केन्द्रीय सदस्यलाई समेटेर नयाँ समिति बनाइनेछ। कात्तिक १९ गते हुने राष्ट्रिय सम्मेलनले एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित गर्ने तथा केन्द्रीय समिति गठन गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ।
माओवादी केन्द्रले यसअघि मंसिर मसान्तभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरे पनि अब एकीकृत दलले छ महिनाभित्र एकता महाधिवेशन गर्ने सहमति गरेको छ।
सहमतिपत्रमा भनिएको छ, ‘पुँजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको वस्तुगत आवश्यकता हो।’
पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहने र नेपाली विशेषताको वैज्ञानिक समाजवादलाई क्रान्तिको कार्यक्रमका रूपमा अघि सार्ने उल्लेख छ।
सहमतिपत्रमा शान्तिपूर्ण आन्दोलनमा आधारित रहने कुरा पनि स्पष्ट गरिएको छ— ‘आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थितिअनुसार सडक, सदन र सरकारलगायत सबै मोर्चामा सक्रिय हुनेछ।’
नयाँ पार्टीको सञ्चालन सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार हुने बताइएको छ। साथै वैचारिक–राजनीतिक मतभिन्नता सम्बन्धी विषय निरन्तर छलफलमार्फत एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्याइनेछ।
एकता घोषणापछि राजनीतिक प्रतिवेदन, कार्यक्रमलगायतका दस्तावेज तयार गर्न कार्यदल गठन गर्ने सहमति पनि भएको छ।
सहमतिपत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टीका अध्यक्ष सुभाषराज काफ्ले, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुन, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढा र नेकपा (साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंह छन्।









