१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

न्युयोर्कमा पहिलो मुस्लिम मेयर जोहरान ममदानीका बाचा र चुनौतीहरु



संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कले इतिहास रच्दै पहिलो मुस्लिम र पहिलो दक्षिण एशियाली मेयर पाएको छ। लोकतान्त्रिक समाजवादी नेता जोहरान ममदानीले मेयर पदमा विजय हासिल गरेका हुन्।

३४ वर्षका ममदानी क्विन्सका राज्य सांसद हुन् । प्रारम्भमा धेरैलाई अपरिचित रहेका उनी चुनावी दौडमा प्रवेश गरेसँगै प्रगतिशील मतदातामाझ लोकप्रिय बनेका हुन् । उनको वामपन्थी विचारधाराले डेमोक्र्याटिक पार्टीभित्र ऊर्जा भरेको छ भने रिपब्लिकनहरू, विशेषगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई तीव्र आलोचना गरेका छन् ।

बीबीसीका अनुसार विजयपछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै ममदानीले भने, “आज हामीले स्पष्ट सन्देश दिएका छौं, आशा अझै जिवित छ ।” उनले थपे, “सिटी हललाई करुणा, दृढता र स्पष्टताका साथ हाम्रो सहर र राष्ट्रका लागि प्रकाश दि‌‌औं ।”

उगाण्डामा जन्म, मुस्लिम विश्वास

ममदानीको जन्म उगाण्डामा भारतीय मूलका आमाबुबाबाट भएको हो । सात वर्षको उमेरमा परिवारसहित उनी न्युयोर्क आएका थिए । ब्रोंक्स हाइ स्कूल अफ साइन्समा अध्ययन गरेपछि उनले बोडोइन कलेजबाट अफ्रिकाना स्टडिजमा स्नातक गरे ।

उनकी आमा मीरा नायर विश्वप्रसिद्ध फिल्म निर्देशक हुन् भने उनका बुबा महमुद ममदानी कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन् ।

ममदानीले आफ्नो उम्मेदवारी अवधिभर मुस्लिम समुदायसँग नजिक रहँदै अभियान चलाए । उनले उर्दू भाषामा महँगो जीवनयापन संकटबारे भिडियोसमेत सार्वजनिक गरेका थिए ।

“सार्वजनिक रुपमा मुस्लिम भएर उभिनु भनेको कहिलेकाहीँ सुरक्षाको त्याग गर्नु पनि हो,” उनले एक सभामा भनेका थिए ।

उनकी पत्नी रमा दुओजी ब्रुकलिनकी सिरियाली कलाकार हुन्, जससँग उनको भेट डेटिङ एप ‘हिन्ज’ मार्फत भएको हो ।

राजनीतिमा प्रवेश गर्नुअघि ममदानीले क्विन्समा न्यून–आय भएका घरधनीहरूलाई बसोबास बचाउन सहयोग गर्ने आवास सल्लाहकारको रूपमा काम गरेका थिए ।

युवामाझ लोकप्रियता र चुनौती

ममदानीको लोकप्रियता विशेषगरी युवा मतदातामाझ रहेको विश्लेषकहरूको भनाइ छ । अमेरिकन विश्वविद्यालयकी सञ्चार विज्ञ जेन हले भनिन्, “उनले सामाजिक सञ्जालमा प्रामाणिक र युवासँग सम्बन्धित सन्देश दिए, जसले जनसमर्थन जुटायो ।”

तर आलोचकहरूले उनलाई अनुभवहीन र अतिवादी भनेका छन् । राष्ट्रपति ट्रम्पले उनलाई बारम्बार ‘कम्युनिस्ट’ भन्दै आक्रमण गरेका छन् । ममदानीले भने ती आरोप अस्वीकार गर्दै प्रतिक्रिया दिएका छन्, “डोनाल्ड ट्रम्प, म जान्दछु तपाईं हेरिरहनु भएको छ, मेरो चार शब्द मात्र छन्, आवाज बढाउ। हामीसम्म पुग्नुअघि तपाईंले हामी सबैलाई पार गर्नुपर्छ ।”

महँगो सहरमा सस्तो जीवनको वाचा

ममदानीको प्रमुख एजेन्डा सहरलाई सबैका लागि किफायती बनाउने हो । उनको योजना अनुसार, भाडामा चार वर्षका लागि स्थिरता ल्याइनेछ, जसले करिब १० लाख भाडाका अपार्टमेन्टहरू प्रभावित गर्नेछ ।

हाल म्यानह्याटनमा एक कोठे अपार्टमेन्टको औसत मासिक भाडा ४,७७८ डलर पुगेको छ । यही कारण ममदानीले “यो सहर आफ्नो मौलिकता गुमाउने खतरा भोग्दैछ,” भन्दै नीतिगत सुधारको वाचा गरेका छन् । तर रियल इस्टेट विशेषज्ञहरूले यो कदम घरमालिकका लागि “विनाशकारी” हुन सक्ने चेतावनी दिएका छन् ।

उनको अन्य योजना मध्ये शहरकै स्वामित्वमा किराना पसलहरू खोल्ने, सार्वजनिक बस निःशुल्क र द्रुत बनाउने, बाल हेरचाह खर्च घटाउने र न्यूनतम ज्याला सन् २०३० सम्ममा ३० डलर पुर्‍याउने पनि सामेल छन् । यी योजनाका लागि उनले ठूला कम्पनी र धनी नागरिकहरूमा कर बढाउने प्रस्ताव गरेका छन् ।

इजरायल–गाजा विवादमा कडा मत

ममदानी अमेरिकाको इजरायल नीतिका तीव्र आलोचक हुन् । उनले इजरायलद्वारा गाजामा “जनसंहार भइरहेको” दाबी गर्दै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।

उनले इजरायलको “यहूदी राज्यको हैसियत” स्वीकार गर्न असहमत रहेको जनाउँदै भनेका छन्, “कुनै पनि राज्य धर्म वा जातीय आधारमा नागरिकलाई विभाजन गर्ने हैसियतमा हुन हुँदैन ।”

तर उनले न्युयोर्कमा यहूदी विरोध सख्त रूपमा अस्वीकार गर्दै द्वेष अपराध नियन्त्रणमा लगानी बढाउने बताएका छन् ।

नयाँ इतिहास, नयाँ जिम्मेवारी

जोहरान ममदानीको विजयले न्युयोर्कमा नयाँ अध्याय सुरु भएको छ । जहाँ बहुसांस्कृतिकता, समानता र प्रगतिशील मूल्यहरू नयाँ नेतृत्वको हातमा पुगेका छन् । तर अब उनीमाथि ठूलो चुनौती छ, सहरको महँगो जीवन, आवास संकट र विभाजित राजनीतिमा आफ्नो नीतिहरू कार्यान्वयन गर्न सक्ने कि नसक्ने भन्ने ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बुधबार  ८ : ०३ बजे