२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्रीको आग्रह, निर्वाचन कार्ययोजना सार्वजनिक



प्रधानमन्त्री सुशीला कार्कीले हरेक योग्य नागरिकलाई आजै मतदाता परिचयपत्र बनाउन आग्रह गरेकी छन् ।

शुक्रबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै नेपालीले आफ्नो मताधिकारको सदुपयोग गर्न तयारी गर्नुपर्ने बताइन् । उनले भनिन्, “जेन-जी युवा समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ या आफैं सही प्रतिनिधि बन्नुपर्छ।”

उनले विद्यमान बेथितिहरूविरुद्ध लड्न र देश विकासमा सँगै अघि बढ्न मताधिकारकै प्रयोग मुख्य साधन हुने बताउँदै हरेक योग्य नागरिकलाई मतदाता परिचयपत्र बनाउन र आगामी निर्वाचनमा सहभागिता जनाउन आह्वान गरेकी छन् ।

यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचन पूर्वतयारीका विवरण प्रस्तुत गरेका हुन्।

आयोगले मतपत्र फागुन १२ गतेभित्रै सबै जिल्ला सदरमुकाममा पुर्‍याइने जानकारी दिएको छ। त्यसपछि मतदान केन्द्रहरूमा पठाइनेछ। साथै, आयोगले निर्वाचन प्रचार–प्रसारका लागि १४ दिनको समय निर्धारण गरेको छ। प्रचार अवधि फागुन ४ देखि १८ सम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ।

निर्वाचन आयोगको कार्ययोजना यसप्रकार छः

राजनीतिक दल दर्ता: मंसिर १ देखि १० सम्म

निर्वाचन कार्यक्रम स्वीकृति तथा राजपत्र प्रकाशन: मंसिर १० गते

मतदाता नामावली अद्यावधिक: मंसिर १ देखि पुस १५ सम्म

समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना: मंसिर १५ गते

मतदान स्थल तथा केन्द्र निर्धारण र राजपत्र प्रकाशन: पुस १५ गते

समानुपातिक बन्द सूची पेश: पुस १८ र १९ गते

प्रत्यक्ष निर्वाचन अधिकृतको कार्यालय स्थापना: माघ २ गते

संयुक्त निर्वाचन संचालन केन्द्र र प्रहरी संचार एकाई संचालन: माघ २ देखि फागुन ३० सम्म

निर्वाचन प्रचार–प्रसार अवधि: फागुन ४ देखि १८ सम्म

मतपत्र ढुवानी र वितरण: फागुन १२ भित्र

मौन अवधि: फागुन १८ गते राति १२:०० बजेबाट सुरु

मतदान: फागुन २१ गते बिहान ७:०० देखि बेलुकी ५:०० सम्म

मतगणना प्रारम्भ: सोही दिन साँझदेखि

प्रकाशित मिति : २२ कार्तिक २०८२, शुक्रबार  ९ : ५६ बजे