३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

दिल्लीमा भीषण विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते, प्रधानमन्त्री मोदीले स्थितिको समीक्षा गरे



सोमबार साँझ दिल्लीको ऐतिहासिक लालकिल्ला मेट्रो स्टेशन नजिकै पार्क गरिएको कारमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। घटनापछि राजधानी दिल्ली र उत्तर प्रदेशमा उच्च सतर्कता घोषणा गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्ली फायर डिपार्टमेन्टका अनुसार विस्फोट गेट नम्बर १ नजिक भएको थियो। सो क्रममा पार्क गरिएको कारमा आगो सल्किँदा वरिपरिका अन्य सवारी साधनहरूमा समेत क्षति पुगेको थियो। छ वटा कार, दुई वटा ई–रिक्सा र एक अटोरिक्सा पूर्णरूपमा जलेका छन् ।

एलएनजेपी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टका अनुसार, “८ जनाले अस्पताल पुग्नुअघि नै ज्यान गुमाए,” भनेका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी सो अस्पतालमा भर्ना गरिएको छ।

घटनास्थलमा सातवटा दमकलका गाडीहरू पुगेर आगो करिब ७:२९ बजे नियन्त्रणमा लिएको बताइएको छ। दिल्ली प्रहरीको विशेष शाखा, राष्ट्रिय अनुसन्धान एजेन्सी र राष्ट्रिय सुरक्षा गार्डका टोलीहरू पनि घटनास्थल पुगेका छन्।

दिल्ली प्रहरी प्रमुख सतीश गोल्चाले घटनाबारे जानकारी दिँदै भने, “साँझ करिब ६:५२ बजे ट्राफिक सिग्नलमा रोकिएको ढिलो गतिमा चल्ने कारमा विस्फोट भयो। त्यस विस्फोटका कारण नजिकका अन्य सवारीसाधनहरू पनि क्षतिग्रस्त भएका छन्। केहीको मृत्यु भएको छ, केही घाइते छन्। सबै सम्बन्धित निकायहरू घटनाको अनुसन्धानमा जुटेका छन्।”

गृहमन्त्री अमित शाहले दिल्ली प्रहरी आयुक्तसँग फोनमा छलफल गरेका छन् र घटनाको जानकारी प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिएका छन्। मोदीले तत्काल स्थितिको समीक्षा गर्दै उच्चस्तरीय निगरानी गर्न निर्देशन दिएको सरकारी स्रोतले जनाएको छ।

घटनास्थलका प्रत्यक्षदर्शीहरूले विस्फोटको आवाज अत्यन्त ठूलो भएको बताएका छन्। स्थानीय व्यापारी राजधर पाण्डेका अनुसार, “जीवनमा यति ठूलो विस्फोट कहिल्यै सुनेको थिइनँ। म तीनपटक लडें। सबै मर्ने भय भयो।” अर्का प्रत्यक्षदर्शीले भने, “सडकमा मानव शरीरका भागहरू विखरिएका थिए। देख्दा पनि हृदयविदारक दृश्य थियो।”

घटनापछि उत्तर प्रदेश र महाराष्ट्रमा पनि रेड अलर्ट जारी गरिएको छ। उत्तर प्रदेशका एडीजी (कानुन व्यवस्था) अमिताभ यशका अनुसार, संवेदनशील धार्मिक स्थल, सिमानाक्षेत्र र ठूला शहरहरूमा प्रहरी गस्ती र सुरक्षा निगरानी बढाइएको छ।

विस्फोटको कारण अझै खुल्न सकेको छैन। तर दिल्ली प्रहरी, एनआइए र फरेन्सिक टोलीहरूले घटनाको प्रारम्भिक अनुसन्धान थालेका छन्। राजधानीमा उच्च सतर्कता कायम गरिएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार  ९ : ३९ बजे