३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मतदाता परिचयपत्रका लागि देशभर घुइचो, आयोगले १२ घण्टासम्म सेवा दिने



आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा देशभरका मतदाता नाम दर्ता केन्द्रहरूमा भीड बढेको छ । नयाँ मतदाता परिचयपत्र बनाउन सर्वसाधारणको घुइचो लागेपछि निर्वाचन आयोगले सेवा समय विस्तार गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरिएको छ ।

सेवाग्राहीको अत्यधिक भीड व्यवस्थापन गर्न आयोगले दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा दुई सिफ्टमा सेवा दिने निर्णय गरेको छ । अब ती जिल्लामा ६/६ घण्टाका दरले १२ घण्टा दैनिक सेवा उपलब्ध हुनेछ ।

आयोगका अनुसार, काठमाडौं उपत्यकाका तीन जिल्लामा नाम दर्ता केन्द्रहरूमा देखिएको चापलाई मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, अन्य जिल्लाहरूमा सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउन प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयमार्फत निर्देशन दिइएको आयोगले जनाएको छ ।

आयोगले नागरिकलाई भीडभाड कम हुने समय र दिनमा पुगेर नाम दर्ता गर्न अनुरोध गर्दै भनिएको छ, “निर्वाचनमा सहभागी हुनका लागि मतदाता नामावलीमा दर्ता हुनु अनिवार्य भएकाले समयमै प्रक्रिया पूरा गर्न सबै पात्र नागरिकलाई अनुरोध गर्दछौं ।”

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार  ९ : २९ बजे