सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले जेन–जी आन्दोलनका क्रममा जेल फोडेर भागेका कैदीबन्दी र प्रहरी ब्यारेक तथा कार्यालयबाट लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतसँग आग्रह गरेका छन् ।
नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा सहभागी हुन दिल्ली पुगेका महानिरीक्षक अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियारले सुरक्षा चुनौती बढाएको भन्दै भारतीय पक्षसँग सहयोगका लागि अनुरोध गरेका हुन्।
महानिरीक्षक अर्याल नेतृत्वको आठ सदस्यीय उच्चस्तरीय टोली मंगलबार दिल्ली प्रस्थान गरेको थियो । बुधबारबाट सुरु भएको सीमा सुरक्षा बैठकमा उनले भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक सञ्जय सिंघलसँगको भेटमा उक्त विषय उठाएका हुन् ।
बैठकमा सहभागी स्रोतका अनुसार एसएसबी प्रमुख सिंघलले यो विषय दुवै देशका लागि गम्भीर सुरक्षा चुनौती भएको स्वीकार गर्दै नियन्त्रणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । २४ भदौमा देशभरका २८ कारागार र सुधारगृहबाट १४ हजार ४३ जना कैदीबन्दी फरार भएका थिए, जसमा अझै ५ हजारभन्दा बढी पक्राउ परेका छैनन् ।
फरारमध्ये करिब ५ सय २० जना भारतीय नागरिक र ९९ जना तेस्रो देशका नागरिक रहेका छन् । उनीहरू स्थलमार्गबाट भारत प्रवेश गरी लुकेर बसेको हुनसक्ने आशंकामा महानिरीक्षक अर्यालले भारतीय पक्षलाई खोजतलासमा सहयोग गर्न आग्रह गरेको हो ।
भारतीय एसएसबी प्रमुख सिंघलले पनि उक्त मुद्दा दुवै देशको सुरक्षाका लागि चुनौतीपूर्ण भएको र भारतले यसलाई गम्भीर रूपमा लिएको बताएका छन् । बैठक शुक्रबारसम्म चल्नेछ। नेपालबाट गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र परराष्ट्र मन्त्रालयका अधिकारीहरू बैठकमा सहभागी छन् ।
भारतका तर्फबाट एसएसबी महानिर्देशक सिंघलको नेतृत्वमा त्यहाँका गृह र विदेश मन्त्रालयका अधिकारीहरू सहभागी छन् । यसअघि आठौं बैठक मंसिर २०८१ मा नेपालमा भएको थियो। नवौं बैठकमा अघिल्लो बैठकको समीक्षा, आगामी रणनीति र करिब एक दर्जन बुँदामा छलफल भइरहेको छ।
छलफलमा सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण, क्रसबोर्डर अकुपेसन, सीमा स्तम्भको मर्मत तथा रेखदेख, सीमाबाट हुने घुसपैठ रोकथाम, सीमा सुरक्षामा तैनाथ बोर्डर आउटपोष्ट र गणस्तरका बैठकहरूको समीक्षा, कार्यान्वयन अवस्था तथा साझा रणनीतिमा केन्द्रित विषयहरू समावेश छन् ।









