१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

यूएईले नेपालीका लागि भिजिट भिसा आवेदन लिन थालेको छ, रोजगारी भिसा अझै रोक्का



जेनजी आन्दोलन लगतै विना सूचना रोकिएको भिजिट भिसाको आवेदन संयुक्त अरब इमिरेट्स (यूएई) ले पुनः लिन थालेको छ । बिहीबारदेखि भिजिट भिसाका आवेदनहरू स्वीकार गर्न सुरु भएको भिसासम्बन्धी काम गर्नेहरुले जनाएका छन् ।

यद्यपी रोजगारी (वर्क) भिसाको विषयमा भने यूएईले हालसम्म कुनै निर्णय गरेको छैन । भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा जेलबाट कैदीहरू भागेपछि यूएईले नेपालीका लागि भिजिट र वर्किङ भिसा दुबै निलम्बन गरेको थियो ।

यूएईले भिसा रोक्का र पुनःसुरु दुवैबारे औपचारिक रूपमा नेपाली दूतावासलाई जानकारी दिइएको छैन । सार्वजनिक रूपमा पनि यूएईले यस सम्बन्धमा कुनै सूचना जारी गरेको छैन ।

अध्यागमन विभागका अनुसार पछिल्लो जुलाईदेखि सेप्टेम्बर २५ सम्म १२ हजार ७ सय ९७ जना नेपाली यूएई पुगेका छन्, जसमा ४ हजार ४ सय २० जना महिला रहेका छन्। यूएई नेपालीका लागि प्रमुख रोजगारी गन्तव्य देश हो। वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार श्रम स्वीकृति लिनेमध्ये करिब ४० प्रतिशत नेपाली यूएई जाने गर्छन्।

साउन महिनामा दैनिक सरदर ७९४ जनाले यूएईका लागि श्रम स्वीकृति लिएको र अघिल्लो आर्थिक वर्षमा दैनिक ७५२ जनाको हाराहारीले श्रम स्वीकृति लिएको देखिन्छ। यस्तै, अनौपचारिक स्रोतहरूका अनुसार दैनिक करिब २०० जना नेपाली नागरिक भिजिट भिसामार्फत यूएई पुगेका छन्।

चालु आर्थिक वर्ष २०८१/०८२ को तथ्यांकअनुसार यूएईका लागि २ लाख १ हजार १४८ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्, जसमा पुनः श्रमस्वीकृति लिनेहरू समावेश छैनन्। साउन महिनामा मात्रै १७ हजार ७७९ जनाले नयाँ र ६ हजार ५९ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

यसैबीच, वर्क परमिट जारी भइसकेका करिब ५ हजार नेपाली श्रमिक अझै यूएई जान पर्खाइमा रहेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, बिहिबार  ८ : ५१ बजे