नेपाल बौद्ध महासंघले हालैको ‘जेननी’ आन्दोलनको सन्दर्भ जोडेर कथित ‘धार्मिक तथा साम्प्रदायिक सद्भाव भत्काउने र हिंसात्मक’ गतिविधिलाई मलजल गर्ने कार्यहरु भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति र सद्भाव कायम गर्न सरकारसँग तत्काल आवश्यक कदम चाल्न माग गरेको छ ।
शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको महासंघका अध्यक्ष नोर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिम्बा) द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जेनजी आन्दोलनका नाममा कतिपय पक्षले बुद्ध तथा विहारहरूविरुद्ध हिंसा, तोडफोड, कब्जा, अतिक्रमण र अराजकता फैलाउने काम गरेको उल्लेख छ । महासंघले प्राचीनकालदेखि नै बौद्ध गोन्पा (गुम्बा) र विहारहरू शान्ति र सद्भावको केन्द्र रहेको र नेपालको धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै यसरी गोन्पा तथा विहारहरूलाई विवादित बनाउनु, अतिक्रमण गर्नु र त्यसको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक मूल्य-मान्यतालाई अवमूल्यन गर्नु समाजमा अशान्ति फैलाउने कार्य भएको जनाएको छ ।
महासंघले ‘जेनजी’ आन्दोलनका क्रममा धार्मिक सद्भाव र सामुदायिक एकता भत्काउने उद्देश्यले केही अराजक तत्त्वहरूले भ्रामक, दुष्प्रचार र गैरजिम्मेवार सार्वजनिक सूचना प्रसार गरेको भन्दै त्यसको निन्दा गरेको छ ।
महासंघले सरकार समक्ष गोन्पा र विहारसम्बन्धी भएका भ्रम, अराजकता र अनावश्यक सार्वजनिक बहस रोकी सार्वजनिक सम्पत्तिको रक्षा, सद्भाव कायम तथा धार्मिक सम्पदाको संरक्षणका लागि तत्काल कानुनी व्यवस्था र स्रोत सुनिश्चित गर्न माग गरेको छ। यसका साथै, धर्म/सम्प्रदायबीच घृणा फैलाउने प्रवृत्तिका कुनै पनि कानुनी वा गैरकानुनी कार्यहरूमा संलग्न व्यक्तिहरूलाई भविष्यमा यस्ता कार्यमा संलग्न हुन नपाउने गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा महासंघले जोड दिएको छ ।
ज्ञापनपत्रमा महासंघले सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत धार्मिक द्वेष फैलाउने व्यक्तिहरूलाई तत्काल कानुनी कारबाही गरी यस्ता प्लेटफर्मको नियमन गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ । महासंघले सरकारलाई तत्काल यी मागहरू सम्बोधन गरी सुदृढ कानुनी व्यवस्था गर्न र धार्मिक, सांस्कृतिक तथा जातीय सद्भावलाई थप मजबुत बनाउन अपिल गरेको छ ।










