६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

एमालेको प्रतिनिधि चयनमा पोखरेल पक्षको असन्तुष्टि



नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र बढ्दो असन्तुष्टि सतहमा आएको छ। अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका नेता ईश्वर पोखरेलको टोलीले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा अनियमितता भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष रूपमा ध्यानाकर्षण गराएको छ।

बिहीबार बिहान पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराई भक्तपुरको गुण्डु पुगेर ओलीसँग भेटेका थिए । भेटपछि शाक्यले देशका विभिन्न स्थानमा प्रतिनिधि चयनमा विवाद र समस्या देखिएको बताउँदै त्यसले महाधिवेशन प्रक्रियामै प्रश्न उब्जिएको टिप्पणी गरिन् । उनका अनुसार दाङ, भोजपुर, ओखलढुंगा लगायतका ठाउँमा उत्पन्न विवादबारे टोलीले अध्यक्ष ओलीलाई विस्तृत जानकारी गराएको थियो ।

शाक्यका अनुसार भेटमा नेताहरूले केन्द्रीय संगठन विभागले कतिपय ठाउँमा पुनः प्रतिनिधि चयन गर्न निर्देशन दिएको, कतिपय स्थानमा उजुरीसमेत नसुने गरेको आरोप लगाएका थिए । जवाफमा ओलीले त्यस्तो समस्या नआउनु पर्ने बताउँदै, “निर्वाचन गरिएको भए भइहाल्थ्यो नि” भनेर प्रतिक्रिया दिएको शाक्यको भनाइ थियो ।

नेताहरूले निर्वाचन प्रक्रियामा जालझेल र हस्तक्षेप देखिएको गुनासो गर्दै, “लोकतन्त्रमा विश्वास राखेपछि लोकतान्त्रिक विधिबाटै अघि बढ्नुपर्थ्यो, यस्ता काम किन गर्नुपर्यो?” भनेर ओलीलाई प्रश्न गरेका थिए। उनीहरूले अबदेखि यस्ता संवेदनशील विषयमा नेतृत्वले विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिएका छन्।

ओलीसँगको भेटपछि पोखरेल समूहका नेताहरू थापागाउँमा पुनः आन्तरिक छलफलमा जुटेका छन्। मंसिर २७ गतेदेखि सुरु हुने महाधिवेशनमा अध्यक्ष ओलीलाई चुनौती दिने उद्देश्यसहित पोखरेल छुट्टै प्यानल बनाउन सक्रिय छन्।

पोखरेललाई अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट लगायत नेताहरूको साथ रहेको छ। सो समूहलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन रहेको बताइएको छ।

प्रकाशित मिति : १९ मंसिर २०८२, बिहिबार  १० : ४८ बजे