६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

पुरानालाई रोक्न नयाँ राजनीतिक समूहहरु एक हुने प्रयासमा



वैकल्पिक राजनीतिक शक्तिहरू छुट्टिएर चुनावमा जाँदा फेरि पुरानै दलहरूको वर्चस्व कायम हुने जोखिम देखिएको निष्कर्षसँगै रास्वपा, उज्यालो नेपाल पार्टी र काठमाडौंका मेयर बालेन शाह नजिकका समूहहरूबीच सहकार्यका लागि सघन संवाद तीव्र बनेको छ ।

यो प्रयासलाई निष्कर्षमा पुर्‍याउन जेनजीका समूहहरूले समेत दबाब बढाएका छन् । द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङ बिहीबार नख्खु जेल पुगेर रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् ।

जेल भेटमा गुरुङले वैकल्पिक शक्तिहरू मिलेर पुराना दललाई चुनौती दिनुपर्ने प्रस्ताव राखेका थिए । भेटको विवरण सुनाउँदै उनले रवि लामिछाने पनि सहकार्यका पक्षमा सकारात्मक रहेको बताएका छन् । उता उनले आफ्नै पहलमा कुलमान घिसिङ र बालेन शाहबीच पनि भेट गराएको दाबी गरेका छन् । उज्यालो नेपाल नेताहरूले पनि उक्त भेटमा गुरुङकै योगदान रहेको स्वीकार गरेका छन् ।

वैकल्पिक एकताको पृष्ठभूमिमा रास्वपा पनि सक्रिय देखिएको छ । रास्वपा प्रवक्ता मनिष झाले सबै पक्षबीच सहकार्यका विषयमा सकारात्मक छलफल भइरहेको जानकारी दिएका छन् । उनका अनुसार गठबन्धन गर्ने सहमतिमा पहुँच भइसकेको छ भने नाम र चुनाव चिह्न जस्ता विषयमा पनि संवाद अन्तिमतिर पुगेको छ ।

उनेपा पक्षका नेताहरूका अनुसार यसपटक उनीहरूले पहिलेभन्दा बढी लचकता देखाएका छन्। कुलमान घिसिङलाई भविष्यको ‘प्रधानमन्त्रीका उम्मेदवार’ का रूपमा अघि सार्ने प्रस्ताव सर्वाधिक चर्चामा छ भने रवि लामिछानेलाई पार्टी अध्यक्षकै रूपमा कायम राख्ने विषय पनि सहमतिको एजेण्डामा परेको छ। भारतजस्तै पार्टी अध्यक्ष र प्रधानमन्त्री फरक व्यक्तिले सम्हाल्ने अभ्यास नेपालमा पनि लागू गर्न सकिने तर्क प्रस्तुत गरिएको छ।

पार्टीको नामबारे पनि विभिन्न विकल्प छलफलमा आएका छन् । राष्ट्रिय उज्यालो पार्टी, उज्यालो स्वतन्त्र पार्टी, राष्ट्रिय उज्यालो स्वतन्त्र पार्टी आदि । तर निर्वाचन आयोगमा भाग लिन समय थोरै बुझेपछि तत्काल रास्वपाको नाम र चिह्नमै चुनावमा गएर पछि महाधिवेशनमार्फत् नाम परिवर्तन गर्न सकिने प्रस्ताव बलियो रूपमा उभिएको छ ।

उता रास्वपाभित्र भने नेतृत्वको वरिपरि रहेका केही ब्यक्तिहरुले कुलमान प्रवेशसँगै आफ्नो प्रभाव घट्ने चिन्ताले एकता प्रक्रियामा बाधा पुर्‍याइरहेको स्रोतहरूले बताएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०८२, शुक्रबार  १० : ४० बजे