थुनामा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको व्यापक भ्रष्टाचारसम्बन्धी अर्को मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अनुसन्धान कार्य लगभग सकिएको छ र केही दिनमै विशेष अदालतमा मुद्दा दर्ता हुनेछ ।
अख्तियारका उच्च स्रोतले पोखरा विमानस्थल निर्माणका क्रममा देखिएको अनियमितता र अर्बौँ रुपैयाँको आर्थिक दुरुपयोगका मुख्य अभियुक्तका रूपमा अधिकारीलाई पहिचान गरिएको पुष्टि गर्यो । नलिनचोक हेलिप्याड भ्रष्टाचार प्रकरणमा उनीमाथि थुनछेक आदेश समाप्त भएपछि नयाँ मुद्दा दायर हुने बताइएको छ ।
२०७१ देखि २०७४ सम्म अधिकारी पोखरा विमानस्थल आयोजनाका प्रमुख थिए । त्यसपछि प्राधिकरणको महानिर्देशक बनेपछि पनि ठेक्का प्रक्रिया, लागत वृद्धि, कर छुट र भुक्तानीसम्बन्धी निर्णयहरूमा अनियमितता गराएको आरोप अख्तियारले लगाएको छ । विमानस्थल निर्माणका प्रारम्भिक चरणमै अनियमितता भएका उजुरी अख्तियारमा पुगे पनि २०७० मा त्यसलाई तामेलीमा राखिएको थियो । संसदीय समितिले पछि निर्देशन दिएपछि मात्र पुनः छानबिन अगाडि बढाइएको हो ।
गत बुधबार मात्रै नलिनचोक हेलिपोर्ट निर्माणमा साढे १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो । उनी हाल अख्तियारको हिरासतमा छन् । पोखरा विमानस्थलसम्बन्धी छानबिनमा भने संसदको सार्वजनिक लेखा समिति, महालेखा परीक्षकका प्रतिवेदन र स्थलगत अध्ययनका आधारमा व्यापक अनियमितता भएको पुष्टि भएपछि मुद्दा दर्ताको तयारी भएको आयोगले जनाएको छ ।
संसदीय उपसमितिले ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता भएको उल्लेख गर्दै कर छुट, लागत वृद्धि र नयाँ सम्झौताका मार्फत २ अर्ब २२ करोडभन्दा बढी आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको थियो । महालेखा परीक्षकको प्रतिवेदनले समेत सो रकम बेरुजुका रूपमा राखेको छ । समितिले आर्थिक, प्राविधिक, वातावरणीय एवं कानुनी अनियमितता पुष्टि गर्दै दोषीमाथि हदैसम्मको कारबाही गर्न सिफारिस गरेको थियो ।
विमानस्थल निर्माणमा देखिएका ठूला त्रुटिहरू, माटो परीक्षणदेखि रनवे, ट्याक्सीवे, एप्रन, डाइभर्शन, ग्राभेल भरणदेखि एचभीएसी खरिदसम्मका धेरै भुक्तानी भए पनि काम नगरेको, भवन तथा पूर्वाधार अधुरै अवस्थामा रहेको, सम्झौताविपरीत थप भुक्तानी गरिएको जस्ता विवरणले भ्रष्टाचारको परिमाण झनै स्पष्ट भएको छ । माटोकै काममा मात्र करिब २ करोड २२ लाख अमेरिकी डलर बराबरको अनियमितता देखिएको छ ।
अख्तियारले अधिकारीसँगै आयोजनामा संलग्न पूर्व प्रमुख विनेश मुनाकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, इन्जिनियरहरू प्रवीण न्यौपाने र बाबुराम पौडेल, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल तथा पूर्व महानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेलसहितलाई प्रतिवादी बनाउने तयारी गरेको छ । विमानस्थल २०७९ पुस १४ मा औपचारिक रूपमा सम्पन्न भएको घोषणा गरिएको थियो ।








