१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

लुम्बिनीले उपाधी चुमेको एनपिएलमा पुरस्कार पाउनेहरु



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनीले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी एनपीएलको दोस्रो सिजनको च्याम्पियन बनेको हो।

उपाधिसँगै लुम्बिनीले एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख रुपैयाँ तथा चौथो स्थानमा रहेको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन्।

एनपीएल दोस्रो सिजनमा लुम्बिनीका रुबेल ट्रम्पलम्यान सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले पाँच लाख रुपैयाँ पुरस्कार पाए। ट्रम्पलम्यानले प्रतियोगिताका १० खेलमा १५ विकेट लिएका थिए। उनी फाइनल खेलमा पनि प्लेअर अफ द म्याच बने। फाइनलमा उनले २.१ ओभर बलिङ गर्दै मात्र तीन रन खर्चेर सुदूरपश्चिमका तीन महत्वपूर्ण विकेट लिएका थिए।

प्रतियोगितामा नेपाली खेलाडीमध्ये सर्वोत्कृष्ट खेलाडीको उपाधि रोहित पौडेलले जिते। उनले ओमोडा कार पुरस्कार प्राप्त गरे। रोहितले प्रतियोगितामा २७६ रन बनाउनुका साथै नौ विकेट पनि लिएका थिए।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर पोखरा टोलीका एडम रोसिङटन बने। उनले ५० हजार रुपैयाँ पुरस्कार पाए। एडमले सात खेलमा ३२३ रन बनाएका थिए। सर्वाधिक रन बनाउने नेपाली खेलाडीका रूपमा पनि रोहित पौडेल नै अग्रस्थानमा रहे। उनले मोटरसाइकल पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटनगर किंग्सका सन्दीप लामिछाने घोषित भए। उनले मोटरसाइकल पुरस्कार पाए। सन्दीपले नौ खेलमा १७ विकेट लिएका थिए। सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्लले पनि १७–१७ विकेट लिए तापनि इकोनमी दर राम्रो भएकाले सन्दीप उत्कृष्ट बलर चुनिएका हुन्।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनीका शेर मल्ल बने। उनले मोटरसाइकल पुरस्कार प्राप्त गरे। शेरले प्रतियोगितामा १७ विकेट लिएका थिए। एनपीएलको इनर्जेटिक प्लेअर अफ द टुर्नामेन्टको उपाधि पनि लुम्बिनीका तिलक भण्डारीले जिते। उनले एक लाख रुपैयाँ नगद पुरस्कार पाए।

फाइनल खेलको प्लेअर अफ द म्याच समेत लुम्बिनीका रुबेल ट्रम्पलम्यान नै बने। उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रकाशित मिति : २८ मंसिर २०८२, शनिबार  ९ : ४१ बजे