१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मुलुक गम्भीर संकटमा धकेलिएको एमाले अध्यक्ष ओलीको दावी



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि भइरहेको आक्रमणविरुद्ध एकताबद्ध भएर उभिन आह्वान गरेका छन् । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन, असंवैधानिक सरकार गठन र अराजक गतिविधिले मुलुकलाई गम्भीर संकटतर्फ धकेलेको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले हाल देखिएको अस्थिरता सामान्य सत्ता परिवर्तनका लागि नभई संविधान, लोकतन्त्र, अर्थतन्त्र र राष्ट्रिय एकतामाथि प्रहार गर्ने योजनाबद्ध प्रयास भएको दाबी गरे । उनले केही घटनालाई ‘आन्दोलन’ वा ‘क्रान्ति’का रूपमा चित्रण गरिए पनि त्यसको वास्तविक उद्देश्य देशलाई अराजकता र दिशाहीनतामा धकेल्नु रहेको बताए । हिंसा, तोडफोड, आगजनी र सुरक्षाकर्मी तथा नागरिकको ज्यान जाने घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई छानबिन गरी कडा कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक र गलत भएको स्पष्ट गर्दै तत्काल प्रतिनिधिसभा पुनःस्थापना गरी संविधान र लोकतन्त्रको बाटोमा फर्किनुपर्ने माग गरे । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुनुपर्ने उल्लेख गर्दै हालको अवस्थाले चुनावी वातावरण नै बिग्रँदै गएको उनले बताए ।

एमाले अध्यक्ष ओलीले पार्टीमाथि ‘जेनजी विरोधी’, ‘पहिचान विरोधी’ जस्ता आरोप लगाउने प्रयास निराधार भएको दाबी गरे । एमालेले युवालाई नेतृत्व, अवसर र प्रविधिसँग जोड्न विशेष व्यवस्था गरेको उल्लेख गर्दै डिजिटल नेपाल, स्टार्टअप प्रवर्द्धन, सीप विकास र रोजगारी सिर्जनामा पार्टी प्रतिबद्ध रहेको बताए । उनले युवालाई असन्तोष र आक्रोशलाई रचनात्मक दिशामा प्रयोग गर्न आग्रह गरे ।

भाषणका क्रममा ओलीले एमालेको योगदान स्मरण गर्दै सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता र लोकतान्त्रिक आन्दोलनमा पार्टीको भूमिका निर्णायक रहेको दाबी गरे । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र सामाजिक सुरक्षाका उपलब्धि कम्युनिष्ट आन्दोलनकै बलिदानबाट सम्भव भएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले वर्तमान चुनौतीको समाधान एमालेभित्रको एकता भएको उल्लेख गर्दै ‘एक एमाले, बलियो एमाले’ निर्माणमा लाग्न कार्यकर्ता र नेताहरूलाई आह्वान गरे । उनले महाधिवेशनलाई वैचारिक स्पष्टता, संगठनात्मक एकता र लोकतान्त्रिक अभ्यासको उदाहरणका रूपमा सफल बनाउने विश्वास व्यक्त गर्दै सबैलाई शुभकामना दिए ।

प्रकाशित मिति : २८ मंसिर २०८२, शनिबार  ९ : ४९ बजे