१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मेयरको झण्डै चार करोड अबैध कमाइ



भ्रष्टाचार गर्दा पनि एक नगरपालिकाको मेयरले कति गर्ला? उत्तर आउने संभावना हुन्छ केही लाख रुपैयाँ । तर त्यसो होइन, एक जना मेयरले नै करोडौं रुपैयाँ अबैध कमाउदो रहेछ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले त्यसै गरेका छन् । नेपाली कांग्रेसबाट निवर्तमान सांसदसमेत रहेका र प्रतिनिधि सभाको अर्थ समितिका सभापतिसमेत रहेका चालिसेले मेयर हुँदा ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ ७१ पैसा अबैध रुपमा बमाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग लगाएको छ ।

गोकर्णेश्वर नगरपालिकाको मेयर पदमा रहँदा उनले पदको मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको अख्तियारको भनाइ छ । चालिसे २०७४ देखि २०७९ सम्म पाँच वर्ष उक्त नगरपालिकाका मेयर थिए, यही अवधिलाई आधार मानेर अनुसन्धान अघि बढाइएको थियो।

अख्तियारले सो अवधिमा चालिसे र उनका एकाघर परिवारको आम्दानी तथा खर्चको विस्तृत हिसाब गरेको जनाएको छ । मेयरमा निर्वाचित हुनुअघि चालिसेको बैंक मौज्दात १८ लाख ४० हजार ५२७ रुपैयाँ २४ पैसा थियो । मेयर भएपछि पारिश्रमिकबाट १५ लाख ४९ हजार ६३६ रुपैयाँ २० पैसा र भत्ताबाट ६ लाख ४० हजार ३३ रुपैयाँ ३३ पैसा बचत देखिएको छ । छोरा सागर चालिसे र सञ्जीव चालिसेको निश्चल मेडिसिन सेन्टर एन्ड फार्मेसीबाट ३३ लाख ५१ हजार २ रुपैयाँ २२ पैसा, सागर चालिसेको इन्जिनियरिङ एन्ड एजुकेशन जोन प्रालिबाट ८ लाख ५६ हजार ८०० रुपैयाँ, बुहारी प्रमिला पोखरेलको पारिश्रमिकबाट १४ लाख ४० हजार ९८ रुपैयाँ २५ पैसा, बोनस २ लाख ९५ हजार २११ रुपैयाँ ९६ पैसा आम्दानी देखाइएको छ ।

यसका साथै बैंक, सहकारी र इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जासमेत जोड्दा परिवारको वैधानिक आम्दानी र कर्जासहितको कुल आय ४ करोड ८८ लाख ४५ हजार ८३३ रुपैयाँ ६२ पैसा रहेको अख्तियारको निष्कर्ष छ । चिरायु फर्मास्युटिकल्स प्रालि स्वेच्छिक खारेजी, सेयर बिक्री, बैंक ब्याज, कृषि तथा जग्गा बिक्रीबाट पनि आम्दानी देखिएको छ।

तर यही अवधिमा चालिसे परिवारले घर निर्माण, फर्निचर, व्यवसायिक लगानी, कर्जा साँवा–ब्याज भुक्तानी, बीमा प्रिमियम, सहकारी तथा बैंक कर्जा, सेयर खरिद, जग्गा खरिद, कर तथा सवारीसम्बन्धी खर्च गरी जम्मा ८ करोड ५६ लाख ८३ हजार ५९५ रुपैयाँ ३३ पैसा बराबरको खर्च तथा लगानी गरेको अख्तियारले जनाएको छ । समग्र आय ४ करोड ८८ लाख ४५ हजार ८३३ रुपैयाँ ६२ पैसा मात्र देखिँदा खर्च र लगानीमा ठूलो अन्तर देखिएको भन्दै अख्तियारले ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ ७१ पैसाको स्रोत पुष्टि हुन नसकेको दाबी गरेको हो ।

बयानका क्रममा चालिसेले उक्त रकम ऋण तथा सापटी भएको दाबी गर्दै तमसुक पेस गरेका थिए । साथै परिवारका नाममा देखिएको खर्च अन्य व्यक्तिबाट भएको दाबी पनि गरेका थिए । तर यसरी भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ ।

वैधानिक स्रोत पुष्टि हुन नसकेको ठहर गर्दै अख्तियारले सन्तोष चालिसेसहित उनको परिवारलाई पनि प्रतिवादी बनाएको छ । उनकी श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार  १० : ३५ बजे