६ माघ २०८२, सोमबार | Mon Jan 19 2026

रास्वपासँग कुलमानसहित उज्यालो नेपालका धेरै जसोको असन्तुष्टी



एकता सम्झौता गरेको दुई साता नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कुलमान घिसिङ बाहिरिने निश्चितप्रायः भएको छ । तत्कालै नयाँ समझदारी नबनेमा कुलमानले अगाडि सारेको उज्यालो नेपाल पार्टी (उनेपा) लाई नै अघि बढाउने निष्कर्षमा उनी पुगेको निकटस्थ नेताहरूले बताएका छन् ।

बुधबार मन्त्री पदबाट राजीनामा दिँदै कुलमानले रास्वपासँगको एकता टरेको घोषणा गर्न खोजेका बताइए पनि निकटस्थहरूको आग्रहमा उनले एकपटक रास्वपा सभापति रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेका थिए । त्यसअनुसार शुक्रबार रविसँग भएको भेटवार्ताले पनि निकास दिन सकेन ।

निर्वाचन आयोगमा दर्ताका क्रममा अनुपकुमार उपाध्यायलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष बनाइएको छ भने कुलमान पार्टीका संरक्षक छन् । शुक्रबार बौद्धमा भएको बैठकमा कुलमानले रास्वपा सभापति रविसँगको छलफलमा उठाएका विषयहरू उनेपाका नेताहरूलाई सुनाएका थिए ।

कुलमानले वरीयताको विषयमा असन्तुष्टि जनाउनुका सागै केन्द्रीय समितिमा २६ जना सुनिश्चित हुनुपर्ने र समानुपातिकतर्फ कम्तीमा ६ जना सांसद बन्नेगरी उम्मेदवार सूचीमा राखिनुपर्ने माग गरेका थिए । तर लामिछानेले केन्द्रीय समितिमा २१ जना दिन आफू तयार भए पनि समानुपातिक सांसद बन्ने सुनिश्चितता दिन नसकिने जवाफ दिएका थिए ।

उज्यालो नेपाल पार्टीका नेताहरूसँगको छलफलपछि कुलमान आफ्नै नेतृत्वमा पार्टीलाई अघि बढाउने निचोडमा पुगेका हुन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ११ : २८ बजे