शनिबार पश्र्चिम रुकुममा नेपाली कम्युनिस्ट पार्टीको सभामा उर्लिएको जनमानस देखेपछि हौसिएका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफू पूर्वी रूकुमबाट चुनाव लड्ने बताएका छन् ।
शनिबार रूकुम पश्चिममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले रूकुमबाटै उम्मेदवार बन्ने संकेत दिएका हुन् । उनले पूर्वी रूकुमलाई आफ्नो सम्भावित निर्वाचन क्षेत्रका रूपमा स्पष्ट पारे ।
‘हुनसक्छ म अहिलेको चुनाव म रूकुमैबाट लड्छु । त्यो यही रूकुम भन्ने नठान्नुहोला । पूर्वी रूकुम आउने करिब निश्चित भएको छ,’ उनले भने, ‘म पूर्वी रूकुम आउने भनेको पश्चिम रूकुम पनि आउने नै हो।’
सभालाई सम्बोधन गर्दै प्रचण्डले रूकुम पश्चिममा गोपाल शर्मालाई विजयी गराउन पार्टी पंक्ति र मतदातालाई आग्रहसमेत गरे । रूकुम पश्चिम पूर्वमन्त्री जनार्दन शर्माको गृहजिल्ला हो । जनार्दन शर्मा नेकपा एकताबाट अलग हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर अघि बढेका छन् ।
प्रचण्ड रूकुम पूर्वसहित देशका विभिन्न १० निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् । उनी कालिकोट, कास्की–३, नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा र कैलाली–३ बाट पनि उम्मेदवारका रूपमा सिफारिस भएका छन् । कतिपय स्थानमा उनी एकल रूपमा सिफारिस भएका छन् भने कतिपय क्षेत्रमा उनीसहित अन्य नेताहरूको नाम केन्द्रमा पठाइएको छ ।
संयोजक प्रचण्डले चुनावैपिच्छे निर्वाचन क्षेत्र परिवर्तन गर्दै उम्मेदवार बन्ने छवि बनाउँदै आएका छन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा उनी काठमाडौं–१० र रोल्पाबाट उम्मेदवार बनेका थिए र दुवै क्षेत्रबाट विजयी भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनी काठमाडौं–१० र सिराहाबाट उम्मेदवार बनेका थिए भने त्यस निर्वाचनमा सिराहाबाट मात्रै निर्वाचित भएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड चितवन–३ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । त्यस्तै २०७९ सालको निर्वाचनमा उनी गोरखा–२ बाट उम्मेदवार बनेर विजयी भएका थिए ।








