राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता भाँडिएपछि कुलमान घिसिङले आफैँलाई उज्यालो नेपाल पार्टीको अध्यक्ष घोषणा गरेका छन् । यसअघि घिसिङ उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने अध्यक्षको जिम्मेवारी अनुपकुमार उपाध्यायले सम्हाल्दै आएका थिए ।
घिसिङलाई पार्टीको केन्द्रीय समिति बैठक शनिबार साँझ उज्यालो पार्टीको अध्यक्षमा अनुमोदन गरेको हो । बैठकपछि साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराइएको थियो ।
यसअघि रास्वपासँग एकता गर्दा उज्यालो नेपालको तर्फबाट अध्यक्ष उपाध्यायले हस्ताक्षर गरेका थिए र रास्वपामा घिसिङलाई दोस्रो वरीयताको उपसभापति बनाउने सहमति भएको थियो । पुस १४ गते सार्वजनिक गरिएको उक्त एकता १२ दिन पनि टिक्न सकेन ।
एकतापछि रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच निरन्तर छलफल भए पनि पार्टीको नाम, चुनाव चिह्न, राजनीतिक एजेन्डा र सिट बाँडफाँटलगायत विषयमा कुरा नमिल्दा एकता टुटेको उज्यालो पक्षको दाबी छ ।
उज्यालो नेपालमा ९४ जना केन्द्रीय सदस्य छन् । घिसिङ यसअघि पार्टीको कुनै औपचारिक पदमा थिएनन् । पार्टीभित्र अधिकांश नेताहरू रास्वपासँग भएको सहमति कार्यान्वयन गरेर एकतामै अघि बढ्नुपर्ने पक्षमा थिए भने केही नेताहरू उज्यालो नेपाल नामअनुसार पार्टीको ब्रान्डिङ भइसकेको भन्दै एक्लै अघि बढ्नुपर्ने धारणा राख्दै आएका थिए ।
रास्वपासँगको एकता तोडिएपछि बसेको उज्यालो नेपालको केन्द्रीय समिति बैठकमा घिसिङले रास्वपामा आफूले अपमानित महसुस गरेको बताएका छन् । बैठकमा उनले मन्त्री हुँदासमेत रास्वपा नेताहरूको चाकरीकक्षमा धाउनुपरेको र एकताको भावना अनुरूप सम्मानित सिट बाँडफाँट नभएको गुनासो राखेका थिए ।
‘समानुपातिकमा हामीले पठाएका नाम काटिए, तल पारिए । मैले अपमान महसुस गरेँ, त्यसकारण एक ठाउँमा रहन सकिएन । अब उज्यालो नेपाललाई अगाडि बढाउने हो,’ घिसिङले भनेका छन् ।
यता रास्वपाका नेताहरूले भने घिसिङले वरिष्ठ उपसभापतिसहित कम्तीमा पाँच पदाधिकारी, सातभन्दा बढी सचिवालय सदस्य, प्रत्यक्ष चुनाव जित्ने सिट र राजकीय पदसमेत माग गरेको आरोप लगाएका छन् । पार्टीको नाममा ‘उज्यालो’ अनिवार्य अटाउनुपर्ने नयाँ माग राखेर सहमतिबाट पछि हटेको रास्वपाको दाबी छ ।
तर घिसिङले ती सबै आरोपको खण्डन गरेका छन् । पत्रकार सम्मेलनमा उनले आफू साधारण सदस्य भएर पनि बस्न तयार रहेको तर पार्टीका अन्य नेता–कार्यकर्तालाई स्थान दिन आग्रह गरेको बताए । ‘मैले प्रधानमन्त्री वा सभापति मागेको थिइनँ । बाहिर अफवाह फैलाइयो,’ उनले भने ।
घिसिङले एकता एकतर्फी ढंगले भंग गरिएको आरोपसमेत लगाएका छन् । उनका अनुसार संविधानका आधारभूत विषयमा पूरक लिखित सम्झौता गर्न प्रस्ताव गर्दा रास्वपाले अस्वीकार गरेपछि एकता टुटेको हो ।
उज्यालो नेपालको नेताहरुका अनुसार रास्वपाको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताप्रतिको सार्वजनिक छविबारे स्पष्टता खोज्न पूरक सम्झौताको प्रस्ताव गरिएको थियो । मौखिक सहमति जनाए पनि लिखित सहमति गर्न रास्वपा तयार नभएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको उनले बताए ।
रास्वपा, उज्यालो नेपाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच पछिल्लो समय भएको भनिएको सहमतिपछि पनि दुवै पक्षबीच मतभेद बढ्दै गएको थियो । अन्ततः दुई नयाँ दलबीचको एकता छोटो समयमै टुटेपछि दुवै पक्ष एकअर्कामाथि दोषारोपणमा उत्रिएका छन् ।








