नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गर्ने महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन तयार भएको छ ।
उक्त प्रतिवेदनमा पार्टी संरचनामा युवाको सहभागिता बढाउने गरी उमेर समूहअनुसारको प्रतिनिधित्व व्यवस्था प्रस्ताव गरिएको छ । स्रोतका अनुसार केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० जना र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई अनिवार्य प्रतिनिधित्व गराउने गरी ड्राफ्ट तयार पारिएको छ ।
त्यस्तै, प्रदेश समितिमा ३० वर्ष मुनिका १० जना र ३० देखि ४० वर्ष उमेर समूहका १० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव राखिनेछ । जिल्ला समितिमा पनि सोही अवधारणाअनुसार ६/६ जना र वडा समितिमा ४/४ जनाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था प्रतिवेदनमा समावेश गरिएको छ ।
सांगठनिक प्रतिवेदनमा राज्यका प्रमुख पदहरूमा कार्यकाल सीमित गर्ने विषयमा पुरानै प्रस्ताव दोहोर्याइएको छ । जसअनुसार एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद हुन सक्ने व्यवस्था प्रतिवेदनमार्फत विशेष महाधिवेशनको हलमा प्रस्तुत गरिने जनाइएको छ ।
यसैगरी, विभिन्न पेशा र व्यवसायमा रहेका व्यक्तिहरूलाई पार्टी संरचनामा समेट्न ‘ल्याट्रल इन्ट्री’को व्यवस्था गर्ने प्रस्ताव पनि प्रतिवेदनमा समावेश गरिएको छ ।
विदेशस्थित जनसम्पर्क समितिहरूलाई समेटेर पार्टीको अन्तर्राष्ट्रिय संरचना बनाउने प्रस्ताव पनि प्रतिवेदनमा राखिएको छ । ‘प्रत्येक देशका जनसम्पर्क समितिका वर्तमान तथा पूर्व अध्यक्षहरू अन्तर्राष्ट्रिय परिषद्का सदस्य हुनेछन्,’ प्रतिवेदनको खाका उल्लेख गर्दै स्रोतले बतायो ।
त्यस्तै, अन्तर्राष्ट्रिय जनसम्पर्क समिति २७ सदस्यीय रहने प्रस्ताव महामन्त्री शर्माले बन्दसत्रमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।








