४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच चुनावी सहकार्यको तयारी



कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालले जेनजी आन्दोलनका घाइतेले खोलेको ‘राष्ट्रिय परिवर्तन पार्टी’सँग मिलेर आगामी चुनाव लड्ने तयारी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग्गिएका कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपालले प्रत्यक्ष निर्वाचनमा आफ्नै चुनाव चिह्न र समानुपातिकतर्फ राष्ट्रिय परिवर्तन पार्टीको ‘बाँसुरी’ चुनाव चिह्न प्रयोग गर्ने तयारी गरेको हो ।

उज्यालो नेपालले यसअघि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन नपाएपछि नयाँ राजनीतिक सहकार्यको विकल्प खोज्दै आएको थियो । सोही क्रममा राष्ट्रिय परिवर्तन पार्टीसँग सहकार्य गरेर चुनावमा जानेबारे छलफल तीव्र बनेको हो ।

मंसिर १ गते जेनजी आन्दोलनका क्रममा एक खुट्टा गुमाएका राजेश पोर्तेलको अध्यक्षतामा राष्ट्रिय परिवर्तन पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । पार्टीले मंसिर २८ गते झापामा बृहत कार्यक्रम आयोजना गर्दै औपचारिक रूपमा आफ्नो घोषणा गरेको थियो ।

दुवै पार्टीबीच सहकार्य गरी समानुपातिक उम्मेदवारको नाम पठाउने विषयमा लगभग सहमति भएको उज्यालो नेपालका एक नेताले जानकारी दिए ।

‘बाँसुरी चुनाव चिह्न भएको राष्ट्रिय परिवर्तन पार्टीसँग मिलेर फागुन २१ गतेको चुनावमा जाने विषयमा छलफल भएको छ,’ ती नेताले भने, ‘आज त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा छलफल भएको हो, सहमतितर्फ उन्मुख छौँ ।’

यद्यपि, सम्भावित अन्य दलहरूसँग पनि उज्यालो नेपालले समानान्तर छलफल गरिरहेको ती नेताले बताए । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार उज्यालो नेपालसँगको एकता अन्त्य भएको घोषणा गरेपछि सोही दिन कुलमान घिसिङलाई अध्यक्ष चयन गर्दै प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ३० बजे