४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भव्य रूपमा उद्घाटन, प्रतिनिधि सहभागिता ५६ प्रतिशत नाघ्यो



नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार काठमाडौंको भृकुटीमण्डपमा भव्य रूपमा उद्घाटन भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सुरु भएको विशेष महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको संख्या २ हजार ६६२ पुगेको छ, जुन कूल प्रतिनिधिको ५६.१२ प्रतिशत हो ।

गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर रहेकोमा उद्घाटनको दिनसम्म आइपुग्दा यो संख्या झण्डै २ प्रतिशतले बढेको हो । दोस्रो विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोख्रेलका अनुसार बन्दसत्र सुरु हुनुअघिसम्म प्रतिनिधिको संख्या अझै बढ्न सक्नेछ ।

महाधिवेशन सचिवालयका अनुसार सोमबार बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिको नाम दर्ता प्रक्रिया पुनः सुरु हुनेछ । आइतबार दर्ता भएका प्रतिनिधिमध्ये मधेश प्रदेशबाट सबैभन्दा बढी ४४६ जना सहभागी छन् । त्यसपछि बागमतीबाट ४३२, कोशीबाट ४२५, लुम्बिनीबाट ३९८, गण्डकीबाट २९६, काठमाडौं उपत्यकाबाट १७८, सुदूरपश्चिमबाट १५८, कर्णालीबाट १३४ प्रतिनिधि सहभागी भएका छन् । भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क समितिबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएको सचिवालयले जनाएको छ । कांग्रेसमा कूल महाधिवेशन प्रतिनिधि संख्या ४ हजार ७४३ रहेको छ ।

‘महाधिवेशन नै सबैभन्दा ठूलो’ : गगन थापा

विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले कांग्रेसमा महाधिवेशन नै सबैभन्दा ठूलो निकाय भएको स्पष्ट पारे । उनले महाधिवेशनले चाहेमा नेता, नीति र विधान सबै बदल्न सक्ने बताए ।

‘कांग्रेस पार्टीमा महाधिवेशनभन्दा ठूलो केही पनि छैन । महाधिवेशनले चाह्यो भने नेता छान्छ र बदल्छ, नीति छान्छ र बदल्छ, विधान पनि बदल्छ,’ थापाले भने, ‘हलले गरेको निर्णय मानेर अघि बढ्नुपर्छ ।’

थापाले पार्टीको नेतृत्व पाउने लोभ र लालचका आधारमा यो सबै नगरेको दाबी गर्दै सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूलाई गम्भीर भएर सोच्न आग्रह गरे । उनले प्रतिनिधिहरूलाई शान्त मनले निर्णय गर्न आग्रह गर्दै पार्टीलाई ठीक ठाउँमा उभ्याउन आफू हार्न पनि तयार रहेको बताए । ‘कांग्रेस ठीक भए देश ठीक ठाउँमा उभिन्छ,’ उनले भने ।

‘ड्राइभिङ सिटमा महामन्त्रीद्वय जानेछौं’ : विश्वप्रकाश शर्मा

महाधिवेशनमा सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको नेतृत्वमा महामन्त्रीद्वय गगन थापा र आफू जाने स्पष्ट पारे ।

‘पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले महामन्त्री दुवै जानेछौँ । त्यसको जिम्मेवारी हामी लिन्छौँ,’ शर्माले भने, ‘नयाँ परिस्थितिलाई सामना गर्न पुरानो सोच र पुरानै बानीले हुँदैन, मनस्थिति बदल्नुपर्छ ।’

जुलुससहित उद्घाटन, दर्ता प्रक्रिया निरन्तर

विशेष महाधिवेशनको उद्घाटनअघि सहभागीहरूले काठमाडौंका विभिन्न छ स्थानबाट जुलुस निकालेका थिए । भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रपछि बन्दसत्र सोही परिसरको सभाहलमा सञ्चालन हुनेछ । महाधिवेशन प्रतिनिधिको नाम दर्ताका लागि आठवटा स्टलबाट प्रक्रिया सञ्चालन गरिएको छ ।

अन्य दलका नेताहरूको सकारात्मक प्रतिक्रिया

कांग्रेसको विशेष महाधिवेशनले नेपालको राजनीतिमा सकारात्मक सन्देश दिने विभिन्न दलका नेताहरूले प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशेष महाधिवेशनलाई ‘विचार र नेतृत्व हस्तान्तरणतर्फको सकारात्मक कदम’ का रूपमा व्याख्या गरे । ‘पुराना दलहरूमा देखिएको वृद्धतन्त्रविरुद्ध कांग्रेसभित्र तेस्रो पुस्ताले गरेको प्रयत्न स्वागतयोग्य छ,’ उनले भने ।

एमाले नेता सुरेन्द्र पाण्डेले विशेष महाधिवेशनले नेपाली राजनीतिमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरे । ‘पार्टी पुनर्गठन तलबाट सुरु हुनु नयाँ अभ्यास हो,’ उनले भने ।

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले कांग्रेस विभाजनतर्फ जान नहुने भन्दै जिम्मेवारीपूर्वक निकास खोज्न आग्रह गरे । एमाले नेतृ बिन्दा पाण्डेले भने गगन–विश्वको नेतृत्वमा भएको विद्रोहलाई सलाम गर्नुपर्ने बताइन् । ‘मूल्य र मान्यताको राजनीति पदभन्दा गह्रौं हुन्छ भन्ने सन्देश यसले दिएको छ,’ उनले भनिन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : ३४ बजे