काठमाडौं । पार्टी रुपान्तरणको एजेण्डामा संस्थापन पक्ष तयार नदेखिएपछि नेपाली कांग्रेस बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले आह्वान गरेको विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको छ। विशेष महाधिवेशन अघि बढ्दै जाँदा कांग्रेस विभाजनको संघारमा पुगेको विश्लेषण हुन थालेको छ।
मंगलबार साँझ विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका पार्टीको आम संरचनात्मक सुधारसहितका प्रस्ताव बहुमतले पारित भएका छन्। प्रस्ताव पारित भएसँगै महामन्त्री गगन थापाले आफूहरू विद्रोहमा सामेल भएको स्पष्ट सन्देश लिएर जाने उद्घोष गरेका छन्।
बन्दसत्रको समापन समारोहमा बोल्दै थापाले पार्टीभित्र प्रश्न उठाउनु नै विद्रोह भएको दाबी गरे। “यो विद्रोह हो। प्रश्न गर्नु आफैँमा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो,” उनले भने। आफू पदको लालसामा विशेष महाधिवेशन आयोजना नगरेको भन्दै उनले नीति र नेतृत्व परिवर्तन नै आन्दोलनको मुख्य उद्देश्य भएको स्पष्ट पारे।
थापाले अब कुनै पनि निर्णय महाधिवेशन हल बाहिर नहुने भन्दै बाहिर भइरहेका सहमतिको प्रयास जटिल बन्दै गएको संकेत गरे। प्रतिनिधिहरूलाई हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले हलबाट अनुमोदन भएका निर्णय मात्रै मान्य हुने बताए।
यता अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई कांग्रेसको भावी नेतृत्व र भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्दै पार्टी नयाँ उर्जासहित अघि बढ्ने उद्घोष गरेका छन्।
विशेष महाधिवेशनको बन्दसत्र चलिरहेकै बेला मंगलबार दिउँसोदेखि नै नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ। नेतृत्वदायी पदका आकांक्षीहरूले फारम लिन थालेका छन्। विशेष परिस्थितिमा विद्रोहको माहोलमा महाधिवेशन भएको भन्दै थापाले आकांक्षीहरूलाई उदार बन्न आग्रह गरे।
संस्थापन पक्षसँग सहमतिको प्रयास सोमबारदेखि जारी रहे पनि मंगलबार दिनभर भएको वार्तामा कुनै ठोस सहमति हुन सकेन। विशेष महाधिवेशन पक्षधरहरूले पार्टी सुधारका प्रस्ताव पारित गर्नुपर्ने, सभापति शेरबहादुर देउवाले पद छोड्नुपर्ने र महाधिवेशनलाई स्वामित्व लिनुपर्ने माग राखेका थिए। तर ती प्रस्तावमा संस्थापन पक्ष टसमस नभएपछि वार्ता निष्कर्षविहीन बनेको हो।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको छ। मंगलबार दिउँसोका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्न नसकी स्थगित भयो। साँझ छोटो बैठक बसेर बुधबार बिहानका लागि बैठक सारिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
यता विशेष महाधिवेशन पक्षधरहरूले संवाद तोडेका भने छैनन्। गुरुराज घिमिरे, प्रदीप पौडेल र देवराज चालिसे वार्तामा सक्रिय रहे पनि महाधिवेशन अल्झाउने रणनीतिमा मात्र कुराकानी केन्द्रित भएको आरोप पक्षधरहरूको छ। यसबीच महाधिवेशन स्थलमा प्रतिनिधि र समर्थकहरूले ‘वार्ताको नाममा अल्झिनु हुँदैन’ भन्दै नाराबाजी समेत गरेका थिए।
नीतिगत प्रस्ताव पारित भइसकेकाले अब नेतृत्वबारे निर्णय बुधबार हुने निश्चित देखिएको छ। यहीबीच संस्थापन पक्षले विशेष महाधिवेशन आयोजकहरूविरुद्ध कारबाहीको विकल्पसमेत अध्ययन गरिरहेको बताइएको छ।
यसैबीच, विशेष महाधिवेशन पक्षधर नेताहरूले सभापति शेरबहादुर देउवाको राजीनामाको साटो पार्टी सञ्चालनका लागि ‘हाईकमान्ड’ बनाउने विकल्प अघि सारेका छन्। उक्त प्रस्तावमा सहमति भए आगामी १५औँ महाधिवेशनसम्म देउवालाई सेरोमोनियल भूमिकामा राख्न लचकता देखाइएको गुरुराज घिमिरेले बताए।
कार्यवाहक सभापति, महामन्त्रीद्वय र नेता शेखर कोइरालासहितको हाईकमान्डमार्फत पार्टी सञ्चालन गर्ने प्रस्तावमा संस्थापन पक्षबाट वार्तामा सहभागी बालकृष्ण खाण र रमेश लेखकले सभापतिको सहमति आवश्यक हुने बताएका छन्।
प्रवक्ता प्रकाशशरण महतले पार्टी विभाजन कसैका लागि पनि हितकर नहुने भन्दै विशेष महाधिवेशन गरिरहेका पक्षलाई पार्टी नफुटाउन आग्रह गरेका छन्। “प्रजातन्त्रको धरोहर र राष्ट्रलाई बलियो बनाउने क्षमता नेपाली कांग्रेससँग मात्र छ,” उनले भने।
विशेष महाधिवेशनले अब नीति र नेतृत्वबारे कस्तो निर्णय लिन्छ भन्नेमा कांग्रेसको भविष्य निर्भर रहने देखिएको छ।








