४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

निर्वाचन आयोगको निर्णय ‘षडयन्त्रपूर्ण’ भएको देउवा पक्षको आरोप



निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई नेपाली कांग्रेसको आधिकारिकता दिने निर्णय गरेलगत्तै शेरबहादुर देउवा पक्षले यसलाई ‘षड्यन्त्रपूर्ण’ भन्दै अस्वीकार गर्ने घोषणा गरेको छ ।

शुक्रबार साँझ निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय त्रुटिपूर्ण रहेको दाबी गर्दै यसका विरुद्ध कानुनी लडाइँ लड्ने चेतावनी दिएको हो । खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिसँग कुनै परामर्श नै नगरी एकपक्षीय रूपमा निर्णय गरिएको भन्दै आक्रोश व्यक्त गरे ।

आयोगको यो कदमपछि देउवा पक्षीय नेता तथा कार्यकर्ताहरू रुष्ट बनेका छन्। निर्णय सार्वजनिक भएलगत्तै निर्वाचन आयोग परिसरमा भेला भएका कार्यकर्ताहरूले आयोग र सरकारका विरुद्ध चर्को नाराबाजी समेत गरेका छन्। परिस्थिति तनावपूर्ण बनेपछि देउवा पक्षले आफ्नो रणनीति तय गर्नका लागि तत्कालै कदम चालेको छ।

यसैबीच, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शनिबार बिहान ८ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उक्त बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । आधिकारिकता गुमाएको अवस्थामा पनि देउवा पक्षले पार्टी कार्यालयमै बैठक आह्वान गर्नुलाई आयोगको निर्णयविरुद्धको प्रतिवादका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शुक्रबार  ९ : ४६ बजे