निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएपछि नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् ।
आयोगको निर्णयपछि एक अपिल जारी गर्दै सभापति थापाले यसलाई कसैको जित वा हारको विषय नबनाई विधि र विधानको सर्वोच्चता स्थापित भएको रूपमा लिन आग्रह गरे । उनले निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानको भावना अनुसार नै सही निर्णय गरेको भन्दै आभार प्रकट गरे । यो सफलता कांग्रेसका लाखौँ सदस्य र शुभेच्छुकहरूको सार्थक परिवर्तनप्रतिको इमानदार प्रयत्नको प्रतिफल भएको उनको भनाइ छ ।
सभापति थापाले अब पार्टी नेताको चाहनाले नभई आम सदस्यको चाहना र लोकतान्त्रिक मूल्यमान्यता अनुसार चल्ने स्पष्ट पारे । उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत वा असहमत सबै तहका नेता तथा कार्यकर्ताहरूलाई कुनै पनि अलमलमा नपरी संयमित र जिम्मेवार बन्न अनुरोध गरे । अब कांग्रेसमा कुनै पनि प्रकारको गुटबन्दी वा भागबन्डा नहुने घोषणा गर्दै उनले तल्लो तहका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान रहने प्रतिबद्धता जनाए ।
कांग्रेस अब नवीन ऊर्जा र एकताका साथ रूपान्तरणको दिशामा अघि बढेको दाबी गर्दै उनले पूर्वसभापति शेरबहादुर देउवालगायतका नेताहरूबाट पनि पूर्ण साथ र सहयोग पाउने विश्वास व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा उपसभापति विश्वप्रकाश शर्माले पनि पार्टीलाई एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा रहेका नेता तथा कार्यकर्ताहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत महाधिवेशनको विपक्षमा उभिएका जिल्ला तथा प्रदेश सभापतिहरूलाई केन्द्रमा रहेका नेताहरूमाथि रचनात्मक हस्तक्षेप गरी पार्टीलाई एकजुट बनाउन आग्रह गरे । यद्यपि, अर्कोतर्फ शेरबहादुर देउवा पक्षले आयोगको निर्णयलाई ‘षडयन्त्रपूर्ण’ भन्दै कानुनी लडाइँमा जाने तयारी गरिरहेको परिवेशमा संस्थापन पक्षले भने सत्ता केन्द्रित अप्राकृतिक गठबन्धनको अन्त्य गर्दै कांग्रेसलाई जनमुखी र सिद्धान्तवादी पार्टीका रूपमा पुनर्गठन गर्ने सङ्कल्प गरेको छ ।









