४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

कोइरालाहरु गगनको पक्षमा



नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले गगन थापाले नेतृत्व गरेको आधिकारिक कांग्रेससँग सम्बन्ध बढाउने संकेत गरेको छ । कोइरालाले शनिबार अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बोलाउने बैठक र छलफलमा सहभागी नहुने निर्णय गरेको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट मान्यता दिएपछ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा राखेको बैठकमा सहभागी हुँदै नेता कोइरालासहित उनका निकट केन्द्रीय सदस्यहरूले यस्तो जानकारी गराएका हुन् ।

सानेपामा भएको विघटित केन्द्रीय समिति बैठकमा सहभागी हुनुअघि नेता कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा पार्टीलाई एकताबद्ध बनाउने भूमिका खेल्नुपर्ने र निर्वाचन प्रक्रियामा सहभागी हुनुपर्ने निष्कर्ष निकालिएको थियो । यही निष्कर्ष उनले सानेपामा बसेको बैठकमा स्पष्ट रूपमा राखेका थिए ।

कोइराला पक्षका नेताहरुका अनु्सार कोइरालाले निर्वाचन आयोगले कार्यसमितिलाई मान्यता दिइसकेको अवस्थामा पार्टीलाई सडक आन्दोलनतिर नलैजान बैठकमै आग्रह गरेका थिए । ‘निर्वाचन आयोगले अदालत जान सकिने बाटो खुला राखेको छ, त्यसैले कानुनी उपचार अदालतबाट खोजौं तर आन्दोलनतिर नलागौं, चुनावतिर लागौं’ कोइरालाको भनाई उदृत गर्दै उनी पक्षका एक नेताले भने ।

नेता कोइरालाले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउनुपर्ने धारणा पनि बैठकमा राखेका थिए । उनका अनुसार आन्दोलनमा नजाने स्पष्ट अडानपछि बैठकले अदालत जाने निर्णय मात्रै गरेको थियो ।

कोइराला र उनी पक्षका नेताहरुले शनिबारको बैठकमा समेत हस्ताक्षर गरेका छैनन् । आफुहरु निवर्तमान भइसकेकाले कार्यसमितिको बैठकमा हस्ताक्षर गर्न निमल्ने उनको भनाई थियो ।

यसअघि नेपाली कांग्रेसकी नेतृ तथा पूर्व पार्टी सभापति गिरिजा प्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले पनि नवनिर्वाचित सभापति थापालाई बधाई दिंदै कांग्रेस नफुटेको नयाँ समिति आएको बताएकी थिइन् ।

प्रकाशित मिति : ४ माघ २०८२, शनिबार  ७ : ५२ बजे