नेपाली आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)को ११ औं राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । माघ ९ र १० गते हुने महाधिवेशनको तयारी पुरा भएको बताइएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष तथा ११ औं राष्ट्रिय महाधिवेशनका मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले ‘प्राकृतिक श्रोत जल, जङ्गल र जमिनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरुको पुनः नामाङकन गर’ भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना गर्न लागिएको बताए ।
“नेपाल आदिवासी जनजाति महासङ्घले राज्यसत्ताको विभेदकारी नीतिकाविरुद्ध आन्दोलन गर्दै सत्तासीत दलहरुलाई खबरदारी अनि आदिवासी समुदायलाई सचेत गराउँदै महत्व्पूर्ण कामहरु गरेको छ । सदन र सडकमा आदिवासी जनजातिका अधिकार लागि आवाज उठाएको छ । राज्य व्यवस्थालाई आदिवासी जनजातिहरुका आवाज सुन्ने र सुनाउने एउटा बलियो संगठन बनेको छ” उनले भने ।
महाधिवेशनका लागि १२ वटा उपसमितिहरु गठन गरिएको छ । प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजक वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, प्रचारप्रसार तथा पत्राचार उपसमिति संयोजक महासचिव दिवस राई, खाद्य तथा आवास व्यवस्थापन उपसमिति संयोजक उपाध्यक्ष युवराज जिरेल, आर्थिक व्यवस्थापन उपसमिति संयोजक कोषाध्यक्ष विमल सारु मगर, प्रतिनिधि कार्ड ब्याच, ब्यानर लजिष्टिक उपसमिति संयोजक उपाध्यक्ष लाकपा ढोक्प्या रहेका छन् ।
यसैगरी, सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक उपाध्यक्ष लहरुमाया जिमी, विधान संशोधन उपसमिति संयोजक वरिष्ठ उपााध्यक्ष बुद्ध घर्ती, स्वयंसेवक व्यवस्थापन उपसमिति संयोजक कोषाध्यक्ष विमल सारुमगर, झाँकी र्याली व्यवस्थापन उपसमिति संयोजक वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति संयोजक उपाध्यक्ष श्रुती कुमाल रहेका छन् ।
महासंघमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सूचीकृत ६० वटा आदिवासी जनजातिमध्ये ५६ समुदाय सदस्य रहेका छन् भने १२ वटा सम्बन्धन सङ्गठनहरु रहेका छन् । त्यसेगरी विदेशस्थित २५ वटा देशहरुमा प्रवास संगठन रहेको र सात वटा प्रदेश समन्वय परिषद्, ७७ वटा जिल्ला समन्वय परिषद् र पाँच हजारभन्दा बढी स्थानीय पालिका र वडा समन्वय परिषद्हरु संगठन रहेको बताइएको छ ।








