उम्मेदवार छनोटमा एकलौटी गरिएको भन्दै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी सचिवालयको निर्णयविरुद्ध लिखित नोट अफ डिसेन्ट (असहमति) दर्ता गराएका छन्। शनिबार बसेको सचिवालय बैठकले १४० भन्दा बढी निर्वाचन क्षेत्रको उम्मेदवारी टुंग्याएपछि भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णय भएको आरोप लगाउँदै चार बुँदे असहमति पेश गरेका हुन्।
सचिवालय बैठकले भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङको उम्मेदवारी होल्ड गरेको छ। उनी निरन्तर जित्दै आएको उक्त क्षेत्रमा एमालेले क्षितिज थेवेलाई उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ।
शनिबारकै बैठकले यसअघि चुनाव जितेका तारा लामा तामाङ, ठाकुर गैरे, गोकुल बास्कोटा, ऋषिकेश पोखरेल, एलपी साँवा लगायतलाई पुनः उम्मेदवार नबनाउने निर्णय गरेको थियो। तर तीमध्ये केही नाम आइतबार सच्याइएका छन्। नेताहरूका अनुसार तामाङ र साँवालाई एमालेले टिकट दिने निर्णय भएको छ।
भट्टराईले मुलुकको विशिष्ट राजनीतिक परिस्थितिमा प्रतिनिधिसभा निर्वाचन हुन लागेको भन्दै उम्मेदवार छनोटका लागि स्पष्ट मापदण्ड तय गर्नुपर्ने उल्लेख गरेका छन्। मापदण्डबिनै उम्मेदवार छनोट गर्दा योग्यता, क्षमता, बौद्धिकता, पार्टीप्रतिको निष्ठा र निरन्तरताभन्दा पनि नेतृत्वको इच्छा र पक्षधरतालाई आधार बनाइएको देखिएको भन्दै उनले त्यसप्रति असहमति जनाएका छन्।
उनले कतिपय स्थानमा एउटै विशेषता भएका व्यक्तिलाई उम्मेदवार बनाइएको र अन्य स्थानमा त्यस्तै विशेषता भएका व्यक्तिलाई छनोटबाट वञ्चित गरिएको उल्लेख गर्दै यसले पार्टी निर्णयप्रति देशव्यापी रूपमा एक स्वरको समर्थन नदेखिएको बताएका छन्।
उम्मेदवार चयनलाई महाधिवेशनको प्रतिस्पर्धाको आँखाबाट हेरिएको भन्दै भट्टराईले असहमतिमा उल्लेख गरेका छन्। हालै सम्पन्न एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा भएको प्रतिस्पर्धाको प्रभाव उम्मेदवार छनोटमा प्रष्ट देखिएको उनको भनाइ छ। यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उनको विश्लेषण छ।
भट्टराईले प्रभावशाली नेताहरू चुनौतीपूर्ण क्षेत्रमा उम्मेदवार बनेर परिणाम निकाल्दा कार्यकर्तामा उत्साह पैदा हुने उल्लेख गर्दै २०४८ सालको निर्वाचनमा मदन भण्डारी काठमाडौं–१ बाट उम्मेदवार बनेर विजयी हुँदा देशव्यापी सन्देश गएको उदाहरण दिएका छन्। तर अहिले नेताहरू पुरानो क्षेत्र छोडेर सुरक्षित क्षेत्रतिर गएको भन्दै उनले त्यसले सकारात्मक सन्देश नदिएको टिप्पणी गरेका छन्।
यसले पदीय हैसियत कम भएका स्वाभिमानी कार्यकर्तामाथि अन्याय भएको र उम्मेदवार छनोटमा गम्भीर चुक भएको उनको ठहर छ। यद्यपि पार्टीले प्रक्रियाअनुसार निर्णय गरिसकेको सन्दर्भमा त्यसको समीक्षा उचित समयमा हुने उनले बताएका छन्।
चुनौतीपूर्ण राजनीतिक अवस्थामा एमालेको विजय पहिलो शर्त रहेको उल्लेख गर्दै भट्टराईले सम्पूर्ण पार्टी सदस्यहरूलाई विचलित नहुन, सुदृढ एकता र उत्साहका साथ चुनावी अभियानमा सक्रिय हुन आग्रह गरेका छन्।








