४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

पार्टी निर्णय मानेर निर्वाचनमा होमिन शेखर कोइरालाको आग्रह



नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको निर्णय मानेर निर्वाचनमा होमिन आफ्ना निकट नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

आज काठमाडौंको बत्तिसपुतलीमा आयोजित भेलामा बोल्दै नेता कोइरालाले पार्टीभित्र देखिएको विवादबारे अदालतले जे आदेश दिए पनि त्यसलाई स्वीकार गर्दै अहिलेको प्राथमिकता निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए।

भेलामा सहभागी एक नेताले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कोइरालाले अदालतको आदेश मान्ने प्रतिबद्धतासहित आफ्ना नेता तथा कार्यकर्ताहरूलाई आ–आफ्नो जिल्ला क्षेत्रमा फर्किएर सक्रिय हुन आग्रह गरेको जानकारी दिए।

‘मुलुकमा देखिएको संविधान संकट र पार्टीभित्रको जटिल परिस्थितिमा पार्टीका उम्मेदवारहरूलाई अग्रणी भूमिकामा रहेर सहयोग गर्न र निर्वाचित गराउन आग्रह गर्छु,’ कोइरालाका भनाइ उद्धृत गर्दै उनका निकट ती नेताले बताए।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरूले त्यसको विरोध गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। देउवा पक्ष अदालत पुगेको भए पनि कोइराला पक्ष भने उक्त विवादमा अदालतमा उपस्थित भएको थिएन।

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार  ७ : ०९ बजे