नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्री पदको उम्मेदवार घोषणा गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठकले यो ऐतिहासिक निर्णय गरेको हो ।
बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा सातवटा प्रमुख कारण उल्लेख गर्दै शर्माले यो निर्णयलाई मुलुकको विशिष्ट परिस्थितिको माग भएको बताए । उनले भने, “सामान्यतया निर्वाचनपछि मात्र प्रधानमन्त्रीको उम्मेदवार अघि सार्ने प्रचलन छ, तर कांग्रेसले चुनावी अभियानमै आफ्नो स्पष्ट उम्मेदवार प्रस्तुत गरेर मतदातालाई भोलिको अन्योलबाट मुक्ति दिने प्रयास गरेको हो ।”
शर्माको प्रस्तावमा थापामा जेनजी आन्दोलनपछिको परिवर्तनलाई आत्मसात गर्ने क्षमता, सुशासन स्थापना गर्ने संकल्प, परिवर्तित समयलाई डाइनामिक ढंगले नेतृत्व गर्ने सामर्थ्य, परिपक्वता, संयम र सौम्य प्रवृत्ति, तथा विगतको लोकतान्त्रिक संघर्ष र सत्तामा अब्बल प्रमाणित भएको व्यक्तित्व रहेको उल्लेख गरिएको छ । विशेष गरी, “जुझारु विद्रोही छविमात्र होइन, प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि गगन थापासँग छ। उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दिर्घजीवी,” प्रस्तावमा भनिएको छ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपसभापति शर्माले प्रस्ताव सर्वसम्मत पारित भएको जानकारी दिए । यो निर्णयले कांग्रेसलाई चुनावी मैदानमा थप बलियो बनाउने विश्वास पार्टी नेताहरूको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह र नेकपा (एमाले)ले केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरिसकेका छन् ।
कांग्रेसको यो कदमलाई विश्लेषकहरूले पार्टीभित्र नयाँ पुस्ताको उदय र निर्वाचनलाई व्यक्तिकेन्द्रित बनाउने रणनीतिका रूपमा हेरेका छन्। सभापति थापाले पदबहाली गर्दा कार्यकर्ताहरूले “अबकी बार, गगन सरकार” को नारा लगाएका थिए।
यो घोषणासँगै कांग्रेसले सुशासन, युवा केन्द्रित नीति र परिवर्तनको मुद्दालाई प्रमुख चुनावी एजेन्डा बनाउने तयारी गरेको छ।








