हिमाली जिल्ला मनाङमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एउटा रोचक र भिन्न राजनीतिक अभ्यास देखिएको छ । चुनावी प्रतिस्पर्धाले समाजमा फाटो ल्याउने भन्दै लामा गुरुहरूको आग्रह र निर्देशनमा राजनीतिक दलहरूबीच गोला प्रथा गरेर उम्मेदवारको टुङ्गो लगाइएको छ ।
गत माघ ६ गते नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेकपा एमालेका पाल्देन गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुवेरसिंह गुरुङले उत्साहका साथ उम्मेदवारी दर्ता गराएका थिए । तर, उम्मेदवारी दर्ता भएको केही दिनमै शुक्रबार एमालेका पाल्देन र राप्रपाका कुवेरसिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले केवल उम्मेदवारी मात्रै फिर्ता लिएका छैनन्, आगामी प्रदेशसभा निर्वाचनमा समेत मिलेर जाने लिखित सहमति गरेका छन् ।
यो सहमतिको मुख्य सूत्रधारका रूपमा काठमाडौँ र मनाङमा रहेका लामा गुरुहरू देखिएका छन् । मनाङ सानो ठाउँ भएको र सबै मतदाता आपसमा नातागोता पर्ने भएकाले चुनावमा प्रतिस्पर्धा गर्दा झैझगडा हुने डर भएको भन्दै लामा गुरुहरूले ‘मनाङ शान्तिको ठाउँ हो, यहाँ चुनावका नाममा झगडा र फजुल खर्च गर्नुहुँदैन’ भन्दै मिलेर जान दबाब दिएका थिए । सोही निर्देशनपछि कांग्रेस र एमालेका नेताहरू लामा गुरुहरूसँगै बसेर गोला थुत्ने निर्णयमा पुगेका थिए । गोला थुत्दा कांग्रेसका टेकबहादुर गुरुङको नाम निस्किएपछि एमालेले उनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको हो ।
यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल गुरुङ भने उम्मेदवारी दर्ता प्रक्रियामै सहभागी भएनन् । यता, नेकपाबाट उपाध्यक्ष देव गुरुङ उम्मेदवार बन्ने चर्चा रहे पनि अन्तिममा माओवादी नेतृ तथा उनकी धर्मपत्नी यसोदा सुवेदी चुनावी मैदानमा उत्रिएकी छिन् । सहमति अनुसार अहिले कांग्रेसलाई सघाएको एमालेलाई आगामी प्रदेशसभा निर्वाचनमा कांग्रेसले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
७ हजार मतदाता रहेको मनाङमा अधिकांश मानिसहरू काठमाडौँ लगायतका अन्य जिल्लामा बसोबास गर्छन् र चुनावको समयमा मात्रै मतदानका लागि जिल्ला पुग्ने गर्छन् । यसअघि २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट टेकबहादुर गुरुङ २ हजार ५ सय ७७ मत ल्याएर विजयी भएका थिए भने एमालेका पोल्देन गुरुङ २ हजार २ सय ४७ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेका थिए ।








