पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा नेपालको पश्चिम क्षेत्रसहित देशका विभिन्न जिल्लामा शुक्रबार साँझदेखि मौसम बदली भई वर्षा र हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि सुरु भएको यो मौसमी बदली शनिबार दिनभर कायम रहेको थियो। वर्षा भने शनिबार अपराह्नबाट केही कम भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसमी प्रणाली बिस्तारै कमजोर बन्दै गएको जानकारी दिनुभएको छ। यद्यपि, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आइतबारसम्मै छिटपुट वर्षा र हिमपातको सम्भावना बाँकी नै रहेको उहाँले बताउनुभयो।
विभागको पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा बढी वर्षा जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर मापन गरिएको छ, जसलाई मध्यम वर्षा मानिन्छ। यसैगरी बैतडीमा २६, डोटीमा २०, कालीकोटमा १९ दशमलव चार, दार्चुलामा १७ दशमलव आठ, बझाङमा १६ दशमलव दुई र दैलेखमा १४ दशमलव तीन मिलिमिटर वर्षा भएको छ। कर्णाली र सुदूरपश्चिमका अन्य जिल्लाहरू डोल्पा, जुम्ला, मुगु र अछाममा पनि १० देखि १३ मिलिमिटरसम्म वर्षा भएको अभिलेख छ। कञ्चनपुरमा नौ दशमलव चार मिलिमिटर वर्षा हुँदा बागलुङ, म्याग्दी, रुकुम पूर्व, रोल्पा, दाङ, बाँके, बर्दिया, सुर्खेत र गुल्मी लगायतका जिल्लामा पनि हल्का वर्षा र हिमपातले जनजीवन प्रभावित बनाएको छ।
शनिबार साँझ विभागले सार्वजनिक गरेको बुलेटिनअनुसार हाल कोशी, मधेश र बागमती प्रदेश लगायतका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदलीको अवस्था रहेको छ। आज राति पनि देशका उच्च पहाडी तथा हिमाली भू-भागमा बादल लाग्ने र कोशी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ। आइतबार पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने विभागले जनाएको छ। साथै, तराईका पूर्वी र मध्य भागमा बिहानीपख हुस्सु लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।








