काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख तथा पछिल्लो समय राष्ट्रिय राजनीतिमा चर्चित पात्र बनेका बालेन शाहले प्रयोग गर्दै आएको महँगो गाडीलाई लिएर नयाँ विवाद सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बरिष्ठ नेता भएर भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका बालेनले चुनावी अभियानका क्रममा चढ्दै आएको करिब ८ करोड रुपैयाँ मूल्य पर्ने कालो रंगको ल्यान्ड रोभर डिफेन्डर गाडी एक विवादास्पद व्यापारीको स्वामित्वमा रहेको खुलेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेका हुन् ।
यातायात व्यवस्था कार्यालय स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार उक्त गाडी त्रिमूर्ति इन्डस्ट्रिज प्रालिको नाममा दर्ता छ । सो कम्पनीका लगानीकर्ता कमल मालपानी रहेको खुलेको छ । मालपानीले उक्त गाडी बालेन शाहलाई आफूहरूले नै उपलब्ध गराएको स्वीकार गरिसकेका छन् ।
कमल मालपानी बुटवलस्थित श्रीराम टोबाको प्रालिसँग पनि सम्बन्धित व्यापारी हुन्, जसले भोला गुट्खा र जित सुर्ती जस्ता सुर्तीजन्य पदार्थ उत्पादन गर्ने गर्छ । रोचक संयोग के छ भने, बालेन शाह काठमाडौं महानगरपालिकाका प्रमुख भएको बेला महानगर क्षेत्रमा गुट्खा तथा सुर्तीजन्य पदार्थको बिक्रीमा कडाइ तथा प्रतिबन्धसम्बन्धी निर्णय लिएका थिए । यही पृष्ठभूमिका कारण गाडी उपलब्ध गराउने व्यापारी र बालेनबीचको सम्बन्धलाई लिएर नैतिकता र जवाफदेहिताको बहस चर्किएको छ ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले बालेनले “सिस्टमविरुद्धको राजनीति” गर्ने दाबी गरिरहँदा यस्ता व्यापारीसँग प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिने कामले उनको राजनीतिक सन्देश कमजोर बनाउने टिप्पणी गरिरहेका छन् । कतिपयले सार्वजनिक पदमा रहेका वा प्रधानमन्त्रीको आकांक्षी नेताले यस्ता सुविधाहरू स्वीकार गर्नु उचित हो कि होइन भन्ने प्रश्न उठाएका छन् ।
यद्यपि बालेन शाहले यस विषयमा औपचारिक रूपमा विस्तृत स्पष्टीकरण दिएका छैनन् । उनका समर्थकहरूले भने यसलाई अनावश्यक विवादको रूपमा व्याख्या गर्दै गाडी प्रयोग गर्नु र नीतिगत निर्णयबीच प्रत्यक्ष सम्बन्ध नजोड्न आग्रह गरिरहेका छन् ।
गाडी विवादले बालेन शाहको पारदर्शिता, नैतिकता र राजनीतिक छविबारे पुनः बहस सुरु गराएको छ । आगामी दिनमा बालेन वा उनको टिमबाट आउने स्पष्ट जवाफले यो विवाद कुन दिशातर्फ जान्छ भन्ने कुराको निर्धारण गर्ने देखिन्छ ।








